पोखरा विश्वविद्यालयका विद्यार्थी छुटे

पोखरा, फागुन १४ ।
तोडफोड र हातपात गरेको आरोपमा पक्राउ परेका पोखरा विश्वविद्यालयका ९ विद्यार्थी रिहा भएका छन् । इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट विद्यार्थीले तोडफोड, आगजनी र हातपातसमेत गरेको आरोपमा २२ जना प्रक्राउ परेकोमा ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक अपराध मुद्दा लगाएको थियो ।

पक्राउ परेका १३ जनालाई रिहा गरेर बाँकीलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको हो । अबदेखि कुनै पनि अपराधजन्य काम नगर्ने कागज गरेर सोमबार विद्यार्थी थुना मुक्त भएको कास्कीका सिडिओ चक्रबहादुर बुढाले जानकारी दिए ।

सार्वजनिक अपराध मुद्दा लागेका प्रदीप भट्ट, विनायक तिमल्सिना, सिपी ओझा, विनोद गिरी, विक्रम गैरे, आशीष केसी, बबिस मगर, गणेश रिमाल र लेखनाथ न्यौपाने जिल्ला प्रशासन कार्यालयमा कागज गरेर रिहा भए । सार्वजनिक अपराध मुद्दा लगाइएपछि विश्वविद्यालयमा अरु केही विद्यार्थीले आमरण अनसन थालेका थिए । विद्यार्थी रिहा भए पनि विद्यार्थीले अनसन भने तोडेका छैनन् ।

माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताए । विद्यार्थीले कापी परीक्षणमा लापरबाही भएको दाबी गर्दै फेरि परीक्षा लिनुपर्ने माग गरेका छन् ।

www.samadhannews.com