पोखरा विश्वविद्यालयका कर्मचारीलाई विद्यार्थीले दिनभर कोठाभित्रै थुने

सन्दिप पौडेल
पोखरा, साउन २८ ।
पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयका कर्मचारीलाई विद्यार्थीले सोमवार दिनभर कार्यालय भित्रै थुनेका छन् । व्यवस्थापन संकायमा धेरै विद्यार्थी फेल भएको र त्यसको पुनः नतिजा प्रकाशन गर्न माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएको आन्दोलनका संयोजक अनुप अधिकारीले जानकारी दिए ।

व्यवस्थापन संकायका विविए र विआईको नतिजा प्रकाशन हँुदा अनियमिता र भद्रगोल भएको उनीहरुको आरोप छ । पुन नतिजा प्रकाशन र परीक्षा दिएको पेपर हेर्न पाउनुपर्ने माग विद्यार्थीको छ ।

यस विषयमा विवाद मिलाउन स्ववियु अध्यक्ष सुनिल तिमिल्सेना लगायत पदाधिकारी अघि सरेपनि बार्ता सफल नभएको आन्दोलन समितिका अगुवा फिरोज सुवेदीले बताए । ब्यवस्थापन संकायका डिन हरि खड्का चाहीँ विद्यार्थीको माग बार्तामार्फत सम्बोधन गरिने बताउँछन् ।

विद्यार्थीको माग अनुसार उत्तरपुस्तिका हेर्ने ब्यवस्था नभएको तर विद्यार्थीका मर्का परीक्षा समितिमा छलफल गरेर मिलाउने उनको भनाई छ । उनले चित्त नबुझेको बिषयलाई निवेदन मार्फत क्याम्पस प्रशासनमा जानकारी गराउन आग्रह गरे ।

सोमवार दिनभर नै पोखरा विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलय भित्र रहेका करिव ४० जना कर्मचारीलाई भित्र राखी विद्यार्थीले बाहिरवाट तालाबन्दी गरेका थिए ।