पोखरा वडा नम्बर १३ लाई फोहरमुक्त वडा बनाउने अभियान सुरु

पोखरा, साउन १७ ।

पोखरा महानगरपालिका १३ नं वडा कार्यालयले फोहरमुक्त वडा बनाउने अभियानको थालनी गरेको छ । वडा कार्यालयले फोहरमुक्त वडा बनाउन वडाबासीलाई स्वास्थ्य तथा सरसफाईको आनीबानीमा परिवर्तन गर्न आग्रह गरेको छ ।

अभियानको पहिलो चरणमा शुक्रवारदेखी रक्षा मार्ग र मिलन मार्ग टोलका ५४ घर परिवारमा यो अभियानको परिक्षण अभियान संचालन गरेको छ । यसवाट बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थी र त्यहाँ बसोबास गर्ने ५४ घरधुरीका ३०१ जना गरी १ हजार ५० जना लाभान्वित हुने भएका छन् ।

भदौमसान्त सम्ममा यी २ टोललाई पुर्ण फोहरमुक्त वडा बनाउने र आगामी दुई वर्ष भित्रमा वडा भित्रका ४७ वटै टोललाई समेटेर फोहर मुक्त वडा वनाउने लक्ष्य वडा कार्यालयले राखेको छ ।

राम्रो पोखरा बनाउन र जनता जगाउन यो अभियानको थालनी गरिएको वडाध्यक्ष दर्शन लामाले बताएका छन् । पोखरा महानगरमा दैनिक १ सय ८० टन भन्दा वढी फोहर निस्कने गर्दछ । फोहरको विकराल समस्याबाट मुक्त गर्न र फोहर मैला कच्चा पदार्थ हो भन्ने सन्देस दिन पनि यो अभियान फलदायी हुने उनले बताए ।

८० प्रतिशत रोग साबुनपानीले राम्ररी हात नधोएका कारण लाग्ने गरेको वातावरण विद छवी गौडेलले वताए । अभियानका लागी वडा कार्यालयले महानगरको सहयोगमा ६ लाख ५० हजार रुपया छुट्याएको छ । घरमै फोहरमैलाको वर्गीकरण गर्न वडाबासीलाई चार प्रकारका डष्ट्वीन वितरण गरिएको छ । कुहीने, नकुहीने र ल्याण्डफील साईडमा प्रयोग गर्ने फोहरको घरमै वर्गीकरण हुने छ । ५ जनाको परिवार भएको घरवाट प्रतिदिन दुई केजी कुहीने फोहर निस्कन्छ । जसवाट कम्पोष्ट मल बनाउन सकिन्छ ।

एक परिवारले सरदर वर्षमा ८ सय देखी १६ सय रुपैँयासम्मको युरिया मल किन्ने गर्दछ । घरमै निस्कने फोहरबाट कम्पोष्ट मल बनाए यो पैसा बचत गर्न सकिन्छ भने अर्को तर्फ फोहरको व्यवस्थापन पनि सहजै गर्न सकिन्छ । अभियानलाई सहयोग पु¥याउन वडा सदस्य कृष्ण कुमारी गुरुङलाई संयाजक बनाइएको छ भने टोल टोलमा सरसफाई अभियान्ता परिचालन गरिएको छ । घर घरमा पुगेर फोहरको वर्गीकरण र व्यवस्थापनका लागी सघाउन नविना क्षेत्री कर्मचारीको रुपमा खटीएकी छन् ।

फोहर व्यवस्थापनकै लागी वडा कार्यालयले वेष्ट म्यानेजमेन्ट रिसाईकल प्रालीसँग सम्झौता समेत गरेको छ । प्लाष्टिक, कागज, फलाम जस्ता सबै प्रकारका नकुहीने फोहर पुनः प्रयोगका लागी प्रालीले प्रति किलो रु १० देखी ४५ रुपैँयासम्ममा किन्ने भएपछि स्थानीय पनि फोहरबाट मोहर बन्ने भन्दै अभियानप्रति सकारात्मक देखिएका छन ।