पोखरा रंगशालाको प्यारापिट आईपुग्यो

पोखरा, मंसिर १ ।
सागको लागि १३ दिन बाँकी रहदाँ पोखरा फुटबल मैदानको ग्राण्डस्ट्याण्ड (प्यारापिट) का सामान पोखरा रंगशाला आईपुगेको छ । पहिलो चरणमा ७ कन्टेनर सामान आईपुगेको छ । सोमबार थप ८ कन्टेनर सामान रंगशाला आईपुग्ने छ । आएको ग्राण्ड स्ट्याण्ड झण्डै ५ हजार ४ सय सिट क्षमताको जडान गरिने छ । नोभेम्बर पहिलो साता आईपुग्ने जनाएपछि सामान एकसाता ढिलो गरी आईपुगेको हो । आईपुगेको सामानलाई आईतबारदेखि नै जडान शुरु गरिदैं छ ।

‘पहिलो चरण आईतबार ७ कन्टेनर ग्राण्डस्ट्याण्डसहित सिटको सामान आईपुग्यो । आजै जडान गर्ने तयारी गरिएको छ ।’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजरको रुपमा रहेको दिपक बरालले भने–‘सोमबार अर्को चरणको आईपुग्ने छ ।’ फुटबल प्रतियोगिताको लागि कम्पनीले बढीमा १० हजार सिट क्षमताको प्याारपिट तयार पार्ने प्रतिबद्धता गरेको थियो ।

आईपुगेको सामान एकसाताभित्रैमा जडान भईसक्ने दावी उनले गरे । ग्राण्डस्ट्याण्डको सामान फ्रान्सबाट आयात गरिएको हो । जडानको लागि फ्रान्सबाट दुई प्राविधिक एकसाता अघि देखि नै पोखरा आईपुगेका थिए । उनीहरुको उपस्थितिमा स्ट्याण्ड जडान गरिने छ । जडानको लागि आवश्यक फाउण्डेशन भने तयार गरिसकिएको छ । पहिलो चरणमा १० हजार सिट क्षमता राख्न फुटबल मैदानको पूर्व र पश्चिम तर्फ फाउण्डेशन तयार गरिएको छ । मैदानको पश्चिम तर्फ भिआईपी प्यारापिटसहित चेन्जिङ रुम लगायत अन्य विभिन्न कक्षहरु निर्माण गरिने छ । तर ती पुर्वाधार भने फुटबल प्रतियोगिता पछि मात्रै तयार हुने छन् ।

कम्पनीले १७ वटा मध्ये अहिले १२ वटा शौचालय तयार गरेको छ । मैदानसम्म पुग्ने पक्की सडक समेत निर्माण गरिरहेको छ । क्रिकेट र र्आचरी मैदानको बीचबाट खनिएको बाटोलाई कालोपत्रे गरिदैं रंगशालाका सबै खेलस्थलसम्म पुग्ने बाटो समेत कम्पनीले खन्दै कालोपत्रे गर्ने अभियान शुरु गरिएको कम्पनीका प्रोजेक्ट मेनेजर बरालले बताए । प्यारापिटको जडान कार्य एकातिर हुदाँ अर्को्तिर भने मैदानमा दुबो राम्ररी उम्रिएको छैन् । मरेको दुबो विस्थापित गर्नुपर्ने छ । त्यसको लागि अझै पनि २५ हजार स्क्वाएर फिट दुबो आउने उनको भनाई थियो ।

पोखरामा १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल, महिला क्रिकेट, र्आचरी, भारोत्तोलन, ट्रायथोलन, व्याडमिन्टन, विच भलिबल र ह्याण्डबल आयोजना गरिने छ । ती खेल मध्ये सबैको पुर्वाधार पूर्णरुपमा तयार भईसकेको छैन् । पुर्वाधार निर्माण अन्तिम चरणमा छन् । यद्यपी ह्याण्डबल र व्याडमिन्टनको लागि म्याट आईपुगेको छैन् । म्याट नआईपुगेको अवस्थामा प्रतियोगिता हुने सम्भावना हुदैन ।