पोखरा महोत्सवमा रहेको लाइफ केयरको स्टलबाट रगतको हरेक परिक्षणमा ५० प्रतिशत छुट दिइने

गिता राना मगर, पोखरा ३ माघ ।
पोखरा अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा आउने दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गरी लाइफ केयर डाइग्नोष्टिक सेन्टरले निशुल्क सुगर, रक्त समुह छुट्याउने तथा हरेक रक्त परिक्षणमा ५० प्रतिशत छुट पाइने ब्यवस्था मिलाइएको छ । यसका लागी पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले पोखराको न्युरोडमा रहेको लाइफ केयर डाइग्नोष्टिक सेन्टर को सहकार्यमा उक्त ब्यवस्था मिलाएको हो ।

त्यसैगरी पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पताल र नरहरी पोलिक्लिनीक रामबजारले महोत्सवमा निशुल्क प्राथमिक उपचारको ब्यवस्था मिलाइएको महोत्सवका प्राथमिक उपचार ब्यवस्थापन उपसमिती संयोजक नरहरी पनेरुले जानकारी दिए । माघ १२ गते सम्म सञ्चालन हुने पोखरा महोत्सवमा महोत्सव स्थलमा रहेको महोत्सवको स्टेज नजिकै रहेको लाईफकेयर डाइग्नोष्टिक सेन्टरको स्टलबाट उक्त सेवा लिन सकिने पनेरुले वताए । निरन्तर झरी परेपनि दशौ संस्करणको पोखरा महोत्सव भने जारी रहेको छ ।

महोत्सवको चौथो दिन शुक्रबार निरन्तर पानी परिरहेपनि दर्शकको उपस्थिती रहयो । महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ मञ्जु बिक, शिवहरी ढुंगाना, रामजी पौडेल, टेक क्षेत्री, सजना गुरुङ, पार्वती गुरुङ, इश्वर खड्का लगायतले लोकदोहोरी मार्फट दर्शकहरुलाई मनोन्जन प्रदान गरेका थिए । शुक्रबार चर्चित भाइरला दोहोरी गायिका १२ वर्षिय ममता कुमाल र टेक क्षेत्रीको दोहोरी घम्साघम्सी मार्फत भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको पप कन्सर्टमा युवाहरुको ढुकढुकी स्थानिय ब्ल्याक रोजको प्रस्तुतीमा युवाहरुले मनोरन्जन लिएका थिए ।

महोत्सवमा शनिवार लोकदोहोरी तर्फ मिलन लामा, प्रजापति पराजुली, सुरेन्द्र गुरुङ, निश्चल थापा मगर, माधव चापागाइ, कृष्णा गुरुङ, तुलसा क्षेत्री, लक्ष्मी बानिया लगायतको प्रस्तुती रहने सांस्कृतीक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

हांस्यब्यग्य तर्फ पोखरेली माग्नेबुढा र धुर्मुसको प्रस्तुती रहनेछभने थारु संस्कृती झल्कने सांस्कृतिक कार्यक्रम रहने छ । साझको पप कन्सर्टमा कबवेव र स्पर्ष ब्याण्डको लाइभ कन्सर्ट रहने छ । महोत्सवमा माघ ६ देखी ८ सम्म कास्की जिल्ला बुद्धिचाल संघको प्राविधीक सहयोगमा युनाईटेड क्लव खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । युनाईटड क्लवको आयोजनामा हुने उक्त प्रतियोगिता अमरसिंह माविको पुस्तकालय भवनमा हुनेछ ।

उक्त प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछभने दोश्रो र तेश्रो हुनेले नगद १५ हजार र दश हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा चौथो स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछनभने टप टेन भित्र पर्ने बांकी ५ जनालाई जनही १ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन ।