पोखरा महानगर–विकासका नाममा पार्कमाथी आक्रमण

पोखरा, भदौ २२ ।
पोखरा ८ सिर्जनाचोकमा पोखरा महानगरले आफ्नो लालपुर्जाको जग्गामा तीनतले ठूलो भवन बनायो । निर्माण गरिएको भवनलाई ठेक्का दिएर अहिले ब्यापारीले पसल गर्छन् । चोकको आडैमा रहेको सरकारी लालपुर्जाभित्रको जग्गालाई ठेक्का दिएर सस्तो बजारको नाममा तरकारी र फलफुल ब्यापार हुन थालेको छ ।

चोकमा रहेको अर्को एउटा सार्वजनिक जग्गामा अहिले फुटट्रयाक निर्माण गर्ने भन्दै पोखरा महानगरले भत्काउन थालेको छ । ‘फुटट्रयाक बनाउनुपर्ने भयो । सार्वजनिक शौचालय छैन । यहाँ शौचालय पनि बनाउने हो, महानगर भन्छ–अन्त बनाउने ठाउँ भएन यही जग्गामा बनाउने सहमति भएको छ ।’

पोखरा महागरले लामो समयदेखि नगरपरिषद्मै निर्णय गरेका ठाउँमा सार्वजनिक शौचालय बनाउन सकेको छैन । पोखरामा मान्छेको भीड दिनहुँ हुन्छ । तर सार्वजनिक शौचालय नहुँदा निकै सकस पर्ने गरेको गुनासो पनि छ । यात्रु र सर्वसाधारणलाई पनि सहजता हुने गरी शौचालय निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।

आफ्ना जग्गा भाडामा लाउने र सार्वजनिक पार्कहरु दोहन गर्ने महानगर सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माणका योजना पनि बर्षेनी घोषणा गर्छ । तर केही स्थानीयहरुले चाहीँ पार्कमा शौचालय निर्माण गर्ने योजनालाई पनि राजनीतिक रंग दिन थालेका छन् । राजनीतिक प्रतिशोधकै कारण महानगरले पार्क भत्काउन लागेको गुनासो काँग्रेस ८ का अध्यक्ष सुवास सिग्देलले बताए । ‘पार्ककको नाम गणेशमान पार्क हो । गणेशमान जी काँग्रेसका नेता हुनुहुन्थ्यो, उनले भने–त्यति राम्रो पार्क भत्काएर अर्काको विजनेश बढाउन शौचालय बनाउने भनेको छ ।’

सार्वजनिक शौचालय आवश्यक भएपनि अन्य विकल्प खोज्नुपर्ने उनको भनाई छ । वडाध्यक्ष रुद्रनाथ बराल चाहीँ अहिले भैरहेको फुटट्रयाक सार्ने र पार्कलाई ब्यवस्थित गर्ने योजना रहेको बताउँछन् । फुटट्रयाक सानो भयो । पार्क अब्यवस्थित भयो । अलि ब्यवस्थित गरौं भनेर काम गरेका हौं, उनले भने–बत्ति ब्यवस्थापन हुन्छ । अहिलेको भन्दा धेरै राम्रो पार्क बन्छ ।’ उनका अनुसार महानगरले पार्क ब्यवस्थापन र शौचालय निर्माण भनेर २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसबाहेक पनि पोखराका विभिन्न सार्वजनिक ठाउँमा रहेका चौताराहरु र पार्कहरु मासेर सडक विस्तारका कामहरु भैरहेका छन् । महानगरभित्र घर बनाउनेले २ वटा रुख नरोपेसम्म नक्सा पास हुँदैन । जनतालाई जबरजस्ती रुख रोप्न लगाउने महानगरले सार्वजनिक ठाउँमा भएका रुखहरु चाहीँ धमाधम ढालिरहेको छ ।