पोखरा महानगरमै कर्मचारीलाई विकट भत्ता !

पोखरा, असार १५ ।
पोखरा महानगरपालिकाले ११ वटा ग्रामिण वडाहरुलाई अलि कम विकसित वडाको रुपमा सूचीकृत गरेको छ । १६, १८, १९, २०, २१, २२, २३, २४, २८, ३२ र ३३ नम्बर वडाहरु गाविसबाट महानगरपालिकामा गाभिएका हुन् । विकास निर्माण र दुरिका आधारमा पनि यि वडाहरु अन्य भन्दा विकट मानिन्छन् । महानगरले ११ वटै वडामा काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ताको रुपमा थप रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

आगामी आर्थिक बर्षका लागि ल्याईएको बजेटबाट यि वडामा कार्यरत कर्मचारीलाई जनही १ हजार ५ सय रुपैयाँ थप भत्ता दिने उल्लेख छ । विकट भत्ता भनेर नाम नदिएपनि यि वडाहरु महानगरको अति कम विकसित वडा हुन् । मेयर मानबहादुर जिसीले कर्मचारीको मनोवल बढाउन र काममा कृयाशिलता ल्याउन प्रोत्साहन भत्ताको ब्यवस्था गरेको बताए ।

‘ति वडाहरुमा कर्मचारी जान मानेनन् । त्यहाँको कार्यसम्पादन पनि राम्रो भएन,’ उनले भने, ‘अलिअलि भत्ता थपियो भने कर्मचारी जाने वातावरण बन्ला भनेर थपेका हौं । विकट भनेर सूचीकरण गरिएको होईन ।’ १६ नम्बर वडामा तत्कालीन अर्मला गाविस गाभिएको छ भने १८ मा सराङकोट, १९ मा पुरुञ्चौर, २० मा भलाम र मौजा, २१ मा निर्मलपोखरी र कृष्ती, २२ मा पुम्दीभुम्दी, २३ मा चापाकोट र भदौरे, २४ मा कास्कीकोट, २८ मा कालिका र माझठाना र ३३ नम्बरमा तत्कालीन भरतपोखरी गाविस पर्छन् । ३२ नम्बर वडा चाहीँ दुरीका हिसावले सबैभन्दा टाढा पर्छ ।