पोखरा महानगरको सभापतिमा मोहन बास्तोलाको उम्मेदवारी

पोखरा, भदौ २४ ।
पोखरा ११ नम्बर वडाका अध्यक्ष मोहनप्रसाद बास्तोलाले नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले पत्रकार सम्मेलन गरेरै एजेण्डा सहित उम्मेदवारी सार्वजनिक गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘कांग्रेस पोखरामा साह्रै कमजोर भयो । दशौं हजार मतान्तरले हामी हारेका छौं । अव आउने चुनावमा कांग्रेसले जित्ने गरि कार्यक्रम म बनाउँछु र कांग्रेसलाई पहिलो पार्टी बनाएरै छोड्छु ।’

बास्तोला अहिले पोखरा महानगर अन्तर्गत विकास समिति सभापति हुन् । आफुले महानगर कार्यपालिकामा पोखराको समानुपातिक विकासमा सँधै दवाव सिर्जना गर्ने गरेको उनले सुनाए । ‘अझै कतिपय वडाहरु विकट छन् । गाडी चढेर वडा कार्यालयसम्म पनि पुगिँदैन,’ उनले भने, ‘ति वडाको विकास र समग्र पोखरालाई आधुनिक सहर बनाउन मेरो पहल सभापतिको हिसावले सँधै रहन्छ ।’

उनले आफु कुनैपनि गुटबाट नभई गुटको रोग चिर्नका लागि एक्लै उम्मेद्वारी दिएको बताए । ‘म कुनै व्यक्तिको गुटमा छैन । कांग्रेसको उम्मेद्वार हुँ । सबै कांग्रेसीजनको साझा उम्मेदवार हुँ,’ बास्तोला भन्छन्, ‘कांग्रेस यति कमजोर हुनुको प्रमुख कारण नै गुट उपगुट हुन् । म गुटमा विश्वास गर्दिनँ । पार्टीको सिद्धान्त र नागरिकको दुखमा विश्वास राख्छु ।’

उनले कांग्रेसमा युवापुस्ताको आकर्षण बढेको भन्दै आफुँ युवाहरुको एजेण्डामा रहेको स्पष्ट पारे ।