पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी सोमबार पनि

पोखरा, बैशाख १० ।

पोखराका सामाजिक परिचालकले सोमबार पनि महानगर घेराउ गरी नाराबाजी गरेका छन् । कार्यालय परिसरमै उनीहरुले प्रदर्शन थालेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त गरिनुपर्ने उनीहरुको माग छ ।

सरकारले गएको पुस १५ देखि सामाजिक परिचालक हटाएको थियो । निरन्तरको आन्दोलनले पुन असार मसान्तसम्मका लागि म्याद थप गर्न स्थानीय सरकारलाई पत्राचार गरेको थियो । तर स्थानीय सरकारले म्याद थप्न नमानेपछि पोखराका सामाजिक परिचालकहरु आन्दोलित भएका हुन् ।

महानगरले चाहीँ नियुक्ति नदिने अडान राखेको छ । मन्त्रालयले सामाजिक परिचालकको सेवा सुविधा मन्त्रालयले नै पठाउने जानकारी गराएपनि महानगरले नियुक्ति दिन नसकिने बताएको छ । मेयर मानबहादुर जिसीले नियुक्ति नदिई तलव मात्रै लिएर काम गर्न सामाजिक परिचालकलाई आग्रह गरेका छन् ।

पछि समस्या हुने भन्दै उनले भएका कर्मचारी ब्यवस्थापन गर्नै कठीन भएको बेला परिचालकलाई नियुक्ती दिँदा बढी समस्या आउने बताए । तर सामाजिक परिचालहरु चाहीँ विना नियुक्ती काम गर्न नसकिने अडानमा छन् । तत्कालै नियुक्ति दिनुपर्ने उनीहरुको माग छ ।

माग सम्बोधन नभए जस्तोसुकै संघर्षका कार्यक्रम गर्न पनि पछि नहट्ने सामाजिक परिचालकहरु बताउँछन् । पोखरामा ४७ जना सामाजिक परिचालक कार्यरत छन् । उनीहरु गएको पुस महिनादेखि नै आन्दोलनमा छन् ।