पोखरा महागनरमा काँग्रेसको तालाबन्दी

पोखरा, असार १२ ।
नेपाली काँग्रेसबाट महानगरमा निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बजेटमा विभेद गरेको आरोप लगाउँदै उनीहरु आन्दोलित छन् ।

बुधबार नगरसभाको अन्तिम समयमा रातो किताव च्यातेर बाहिरिएका उनीहरुले विहिबार महानगरको मुलगेटमै तालाबन्दी गरेका हुन् । नाराबाजी सहित उनीहरुले महानगरको गेटबाहिर प्रदर्शन गरे ।

बजेट वितरण समानुपातिक नभएको काँग्रेसका प्रतिनिधिहरुको आरोप छ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचलाई केन्द्रीत गरेर बजेट विनियोजन गरेको अर्का वडाध्यक्ष शंकर बास्तोलाले बताए ।

काँग्रेसको विरोधकै बाबजुत महानगरको बजेट बुधबार नै बहुमतले पारित भएको छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपातर्फका हुन् ।

केही वडाहरुमा मात्रै बजेट केन्द्रीत भएको र काँग्रेसले जितेका वडाहरुलाई विभेद गरेको ३ नम्बर वडाका वडाध्यक्ष रविन्द्रबहादुर प्रजुले बताए । उनले यो बजेट सच्याएर ल्याउन माग गरेका छन् ।

११ नम्बरका वडाध्यक्ष मोहन बास्तोला पनि बजेट नसच्चिएसम्म आन्दोलन निरन्तर चलिरहने बताउँछन् । सच्याउन आग्रह गरेको र नमानेसम्म आन्दोलन नरोकिने उनको भनाई छ । १० नम्बर वडाध्यक्ष राजकुमार गुरुङ अहिलेको बजेटले काँग्रेसलाई बाईपास गरेको आरोप लगाउँछन् । बजेटजति नेकपाले जितेका वडामा थुप्रिएको उनको गुनासो छ ।

मेयर मानबहादुर जिसीले चाहीँ बजेटमा कुनै विभेद नभएको दावी गरे । काँग्रेसको तालाबन्दी पछि महानगरको सेवा प्रवाह समेत प्रभावित भएको छ ।