पोखरा मन्टेसरीमा नि:शुल्क मधुमेह र टिजीको जाँच

 

 

पोखरा, मंसिर २९ ।

पोखरा १६ लामाचौरको गैह्राबारीमा रहेको पोखरा मन्टेसरी प्रिस्कुलले शनिबार आयोजना गरेको शिविरमा ४ सय २ जनाले नि:शुल्क रगत जाँच गराएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरका सहभागीको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो ।

मन्टेसरीका अध्यक्ष थीरबहादुर थापाले व्यवसायसँगै सामाजिक दायित्व निर्वाह गर्न कार्यक्रम गरिएको बताए । उनले भने, ‘कमसेकम वर्षमा १ सामाजिक काम गरौं भन्ने हो । विद्यार्थी, अभिभावक र यहाँको समाजलाई केही दिनु शिक्षासेवी र नागरिकको कर्तव्य हो ।’ गत वैशाखमा सञ्चालनमा आएको पोखरा मन्टेसरीले प्रत्येक विद्यार्थीलाई शिक्षकको विशेष रेखदेखसहित मन्टेसरी विधिबाट शिक्षण गरिरहेको उनले बताए ।

पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले राज्यले गर्नुपर्ने खालका कार्यक्रम निजी क्षेत्रका प्रतिष्ठानहरुबाट हुनु खुसीको कुरा भएको बताए । पोखरा १६ का अध्यक्ष जीवन आचार्यले स्वस्थ नागरिकबाट नै सुखी र समृद्ध समाज निर्माणमा ठूलो टेवा पुग्ने बताए ।

कार्यक्रमा सहभागीलाई वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामचन्द्र काफ्लेले विभिन्न रोगबारे जानकारी दिए । खानपान र जीवनशैलीबारे सजग हुन आग्रह गर्दै उनले समय समयमा स्वास्थ्य जाँच गर्न र रोग लागिसकेको भए विशेषज्ञको सेवा लिन आग्रह गरे । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएल सामाजिक उत्तरदायित्वसहितको अग्रणी ल्याब भएको बताए । हालसम्म विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएका ७९ शिविरमा ५८ हजारभन्दा बढीलाई सित्तैमा सेवा प्रदान गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा मन्टेसरीका शिक्षा निर्देशक तीर्थ तामाङ, अनिता बस्नेत लगायतले बोलेका थिए । शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा ५० प्रतिशत छुट दिइएको थियो ।