पोखरा पुम्दीभुम्दीमा मृत भेटिएकी बालिकाको अनुहार क्षतविक्षत, अर्धनग्न अवस्थामा भेटियो शव

पोखरा, असोज ९ ।
पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने ठाउँमा मंगलबार सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत अवस्थामा भेटिइन् ।

मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा शव भेटिएको हो । स्थानीयका अनुसार श्रेया बिस्कुट किन्न भनेर पसलतिर गएकी थिईन्, तर फर्केर आईनन् ।

झाडीमा शव घोप्टो परेको अवस्थामा थियो । बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । शवको छेउमै रगत लागेको ढुंगा भेटिएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ ।

बाबुले दोस्रो बिहे गरेपछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने विद्यार्थी हुन् । बिरामी रहेकी आमा बेले बिक डेढ महिना अघिमात्रै उपचार गराएर घर फर्केकी थिईन् ।

के भन्छ प्रहरी ?

स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले हत्या भएको देखिएपनि रेप भएको बारे पोष्टमार्टम रिपोर्टपछि नै थाहा हुने बताए । उनले शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको बताए । ‘बलात्कार भए नभएको यसै भन्न मिल्दैन । प्रहरीले पत्ता लगाउने कुरा पनि भएन, उनले भने–मर्डर भएको छ । रेप चाहीँ अस्पतालको रिपोर्टले बताउला ।’

आन्दोलित स्थानियको अनुमान

स्थानीयले बलात्कार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने माग गरे । उनीहरुले पोष्टमार्टमका लागि शव लैजान नदिने भन्दै धेरै बेरसम्म शव उठाउन दिएनन् । नाराबाजी गर्दै गाउँ नै उल्टिएर प्रहरीलाई अवरोध गरेका थिए ।–पत्रकार रञ्जन अधिकारीले गण्डक न्यूजका लागि समाचार लेखेका हुन् ।