पोखरा–काठमाडौं रुटमा संसारकै उत्कृष्ट बस

पोखरा, असोज ५ ।
पोखरा–काठमाण्डौं रुटमा संसारकै उत्कृष्ट बस गुड्न थालेका छन् । सार्वजनिक यातायातको क्षेत्रमा लगानी गर्दै आइरहेको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपरडिलक्स बस यो रुटमा सुरु गरेको हो । संसारकै उत्कृष्ट स्तरको बस सञ्चालन गर्न लागिएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले दावी गरेका छन् । प्रालिले यस अगाडि सोही रुटमा एसियाकै उत्कृष्ट स्तरको बस सञ्चालन गरिरहेको छ ।
नयाँ बस शुक्रबार पोखराबाट औपचारिक रुपमा सञ्चालन हुँदैछ भने शनिबार काठमाडौंमा सेवा शुभारम्भ गरिनेछ । प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहने बस २१ सिट क्षमताको छ । बसभित्रै रेष्टरुम र मिनीबारको सुविधा रहेको उक्त बस पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत सञ्चालन हुँदैछ ।
आनन्दसँग सुतेर यात्रा गर्न सकिने उक्त बसमा ब्रेकफास्ट तथा लन्चको सुविधा समेत उपलब्ध रहेको अधिकारीले जानकारी दिए । बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्नेछ । यात्रुको सुविधाका लागि बस क्रियु खटिनेछिन् । दुई वटा बसमा प्रति बस करिब २ करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए । अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज प्रयोग गरी बस तयार गरिएको उनले बताए ।
भाडादर ६ सय ५० रुपैयाँ रहेको उक्त बसमा खाना बफेडको ५ सय ५० रुपैयाँ, खाजाको १ सय ५० रुपैयाँ, क्रियु सर्भिस शुल्क ५० रुपैयाँ, काउज सिड शुल्क २ सय रुपैयाँ, मनोरञ्जन शुल्क २ सय ५० रुपैयाँ, चिया, कफी, चिसो तथा चकलेट शुल्क २ सय रुपैयाँ, रेष्टरुम शुल्क ५० रुपैयाँ सहित जम्मा भाडादर २ हजार २ सय रुपैयाँ तय गरिएको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । अति विशिष्ट खालको बस सञ्चालन गर्ने लक्ष्यसहित समिति अगाडि बढिरहेको उनले बताए ।
राज्यले यातायात प्राधिकरण गठन गरेर यातायात क्षेत्रको विकास गर्नुपर्ने समितिका अध्यक्ष एनकुमार साई बताउँछन् । संस्थाले आगामी दिनमा थप स्तरीय बसहरु सञ्चालन गर्ने उनले बताए । समिति अन्तर्गत १ हजार ३ सय ५५ गाडी सञ्चालनमा छन् । ‘ती मध्ये अधिकांश गाडी डिलक्स मापदण्डका छन्,’ उनले भने, ‘समिति अन्तर्गत देशभरका रुटमा बसहरु सञ्चालन भइरहेका छन् ।’