पोखरा एक्स्पोमा नेपाल आइडलका फाइनलिष्ट विक्रम बरालले गाउने

पोखरा, मंसिर २३ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकनकर्ताको भीडभाड लाग्यो । मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला भर्नेहरुको घुँइचो लागेको हो । शनिबार करिब ३० हजार जनाले मेला अवलोकन गरेको आयोजकको दावी छ ।

‘हामीले वर्षेनी यहाँ मेला गर्दै आएका छौँ, संघले आयोजना गर्ने मेला एकपटक पुग्नै पर्ने गन्तव्यको रुपमा विकास भएकोले पनि शनिबार भीडभाड भएको हो’, संघका अध्यक्ष दामु अधिकारीले भने, ‘यो मेला किनमेल गर्ने, उपभोक्ता र उत्पादकबीच सम्बन्ध स्थापना गर्ने माध्यम पनि हो ।’ मेला अब दुई दिन मात्र चल्नेछ ।

पोखरा उद्योग वाणिज्य संघले मेला स्थलमै आयोजना गरेको उद्योग÷व्यवसाय प्रवद्र्धनसम्बन्धी सेमिनार शनिबार सम्पन्न भएको छ । दुई दिने ‘बि टु बि’ सेमिनारमा उद्यमी र व्यवसायीको लागि आवश्यक पर्ने सीप, बजार प्रर्वद्धनका कलाहरु, आफ्नो उत्पादनको ब्राण्डिङ, व्यवसाय र व्यवसायीबीच, व्यवसायी र सरकारबीच तथा व्यवसायी उपभोक्ताबीचको सम्बन्धबारे सहभागीहरुलाई जानकारी गराइएको थियो ।

सेमिनारमा ६२ जना उद्योगी÷ व्यवसायीहरुको सहभागिता रहेको सेमिनार संयोजक तथा पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले जानकारी दिईन् । तालीम समापन कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले आफ्ना उत्पादनहरुको बजारीकरण गर्ने सीप भए सानो पूँजीले पनि उद्यमी÷व्यवसायी बन्न सकिने बताए ।

आइतबार नेपालको चर्चित रियालिटी सो ‘नेपाल आइडल’ का अन्तिम प्रतिष्पर्धी बिक्रम बरालको प्रस्तुती रहनेछ । पोखराका बिक्रमले आइतबार अर्थात मंसिर २३ गते दिउसो ३ बजे आफ्नो गायन प्रस्तु गर्नुहुने संघका कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए । उनीसँगै रितु कँडेल, कृष्ण काफ्लेले स्टेज सेयर गर्नेछन् ।

यसैगरी आइतबार लोकगीततर्फ पुरुषोत्तम न्यौपाने, चद्र शर्मा, चोलेन्द्र पौडेल, शिव हमाल , अञ्जली अधिकारी, सिरजु अधिकारी,घनश्याम रिजाल, सीता केसी,सरला पाण्डे,लक्ष्मी नेपाली, सुरेश भुर्तेल,रिता कुँवर, लक्ष्मी बरालको प्रस्तुती रहनेछ भने हाँस्यतर्फ पोखरेली माग्ने बूढा र धुर्मुस विशेष आकर्षण रहनेछन् । तायःमचाः आइतबारको विशेष प्रस्तुति रहने साँस्कृतिक उपसमिति संयोजक केशवबहादुर खत्रीले जानकारी दिए ।