पोखरा अमरसिंह चोकको भूमिका मिटसपमा सिलबन्दी

पोखरा, चैत १ ।
मुलुक संघीयतामा गइसकेपछि कास्कीमा स्थानीय कानून अनुसारद्वारा पहिलो पटक बजार अनुगमन भएको छ । पोखरा महानगरपालिकाद्वारा जारी ‘बजार अनुगमन निर्दे्शिका–२०७४’ अनुसार पोखरामा मंगलबार बजार अनुगमन भएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजकत्वमा संघीय कानुन अनुसार अनुगमन हुँदैआएको थियो ।

पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा भएको अनुगमनमा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, जिल्ला प्रशासन कार्यालय, पशु विकास महाशाखा र गुणस्तर तथा नापतौल कार्यालय कास्कीका प्रतिनिधि, प्रहरी र पत्रकारको सहभागिता थियो ।

स्थानीय कानुन अनुसार अनुगमन हुनु उपभोक्ता हितमा रहेको उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले बताए । उनले यसलाई नियमित रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

अनुगमनमा पोखरा–१० स्थित बी भाञ्जा सप्लायर्समा अनुगमनपछि सिलबन्दी गरिएको छ । बी भाञ्जा सप्लायर्स दर्ता गरेर साईनबोर्ड नराखेको तथा भूमिका मिट सपको नाममा चलाईएको पसल दर्ता नै नभएको अनुगमन टोलिले जनाएको छ ।

सरसफाइमा ख्याल नगरी उपभोक्ता स्वास्थ्य विपरीत संचालन गरिएको, फोहोर दुर्गन्धित पाइएपछि सुधार गर्न निर्देशन दिँदै सप्लायर्समा सिलबन्दी गरिएको हो ।

दैनिक ५ सय बढी कुखुराको मासु बिक्री वितरण गर्ने सो सप्लायर्सले आवश्यक मापदण्ड पूरा गरेरनगरेकोबारे अनुगमन टोलीले पुनः अनुगमनपछि स्वीकृति दिनसक्ने अनुगमनमा संलग्न उपभोक्ता मञ्च अध्यक्ष कोइरालाले जनाए ।