पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ मंसिरदेखि क्यालिब्रेसन उडान

पोखरा, कात्तिक ३० ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चुनावको भोलिपल्ट क्यालिब्रेसन उडान हुने भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो ।

सोको लागि एरो थाई कम्पनीको जहाज आइतबार नेपाल आइसकेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । सो जहाज मंसिर २ मा पोखरा आउने जनाइएको छ । क्यालिब्रेसन उडान एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । उडानको प्रतिवेदन कम्पनीले बुझाएपछि मात्र नयाँ विमानस्थलमा परीक्षण उडान हुने गर्दछ । र, परीक्षण उडान समेत सफल भएपछि व्यावसायिक उडान सुरु हुने छन् ।

बहुप्रतिक्षित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी १ जनवरी, २०२३ देखि उडान गर्ने तयारी छ । यहाँबाट बुद्ध एयरले पहिलो पल्ट अन्तर्राष्ट्रिय उडान भर्ने सोमबारमात्रै जानकारी दिएको छ । बुद्ध एयरले यहाँबाट भारतको दिल्ली, बनारस र देहरादूनमा उडान भर्न लागेको हो । कम्पनीका अनुसार पोखराबाट पहिलो उडानका रुपमा बुद्धले पोखरा–बनारस–पोखरा उडान गर्नेछ । पोखरा–बनारस–पोखरा उडान सातामा ३ दिन आइतबार, मंगलबार र बिहीबार हुने कम्पनीले जनाएको छ । बुद्धले भारत सरकारबाट रुट र स्लटको पहल गरिरहेको र सो प्राप्त भएपछि पोखरा–देहरादून–पोखरामा समेत सातामा ३ वटा उडान भर्ने जनाएको छ । नेपालका करिब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो ।