पोखरा अन्तराष्ट्रिय विमानस्थलः डेढ सय रोपनी जमिन अधिग्रहण गरिने

प्रकाश ढकाल
पोखरा, मंसिर १० ।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै डेढ सय रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । इन्स्ट्रुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) राख्नका लागि जग्गा अपुग हुने भएपछि तेश्रो पटक १ सय ४८ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको हो । पाईलटलाई बाटो देखाउन र जहाज रोक्नका लागि सघाउन यो मेसिन राखिन्छ । जग्गा अधिग्रहणका लागि मन्त्रीपरिषद् बैठकबाट सहमति पाईसकेको छ ।

दक्षिण पुर्वमा १ सय ६ रोपनी र उत्तरपुर्वतर्फ ४२ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको आयोजना प्रम्ुख विनेश मुनन्कर्मीले जानकारी दिए । ‘क्याविनेटबाट पास भएको पत्र हामीलाई आएपछि सूचना निकाल्छौं । दक्षिणतर्फ आईएलएस मेसिन राख्नुपर्ने छ । उत्तरतर्फ आयल निगमले जग्गा मागिरहेको छ,’ उनले भने, ‘लेटर आएपछि कमिटी गठन हुन्छ । चाँडैै गर्नुपर्ने भएकोले प्रोसेसमा गैहाल्छ ।’

स्थानीयको मागलाई सम्बोधन गर्दै सहज वातावरणमै जग्गा अधिग्रहण गरिने उनले सुनाए । ‘कुनै अब्जेक्सन छैन । केही मागहरु छन् । सूचना जारी भएपछि ति कुराहरु आउलान्,’ उनले अघि भने, ‘मुआब्जा समितिले निर्धारण गर्छ । सरोकारवालालाई पनि त्यहाँ सहभागी गराईन्छ । वहाँहरुको कुरा त्यहाँ पनि राख्नुहोला ।’ केही जग्गा पहिलेदेखि नै रोक्का राखेकोले सहज भएपनि अरु जग्गा चाहीँ पूरै नयाँ प्रक्रियाअनुसार अधिग्रहण गर्नुपर्ने छ । आयल निगमलाई भविष्यमा जग्गा नपुग्ने र त्यसका लागि पनि केही जमिन अहिले नै अधिग्रहण गर्नुपर्ने अवस्था रहेको मुनन्कर्मीले जानकारी दिए ।

हाल ३ हजार ७ सय ३५ रोपनी क्षेत्रफलमा निर्माण भैरहेको विमानस्थलमा जग्गा थप अधिग्रहण गरेपछि ३ हजार ८ सय ८३ रोपनी हुनेछ । विमानस्थल निर्माणको काम ५२ प्रतिशत पूरा भएको छ । रनवे (धावनमार्ग), ट्याक्सी वे (ट्याक्सी गुड््ने ठाउँ) र एप्रोन (जहाज पार्किङ) तयार भैसकेको इञ्जिनियर कृष्ण पौडेलले जानकारी दिए । सन् २०२१ जुलाई अघि नै विमानस्थल निर्माणको काम सरेर सरकारलाई हस्तान्तरण गरिसक्ने निर्माण कम्पनीले जनाएको छ । २०२९ सालमा प्यासिफिक एशोसियशन अफ ट्राभल एजेन्सी (पाटा) ले पोखराको पर्यटन विकासको गुरुयोजना तयार गर्दा पोखरा अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेको थियो ।

त्यसपछि पहिलो पटक २०३२ सालमा पोखराको छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको हो । विमानस्थल निर्माणका लागि जग्गा अपुग भएपछि २०६९ सालमा थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । २०७१ जेठ ८ गते चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग निर्माणको ठेक्का सम्झौता भएपछि अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७२ बैशाखमा विमान स्थल निर्माणका लागि शिलान्यास गरेका हुन् ।

विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने बताईएको छ । ऋणको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने छ भने अनुदान बाहेकको रकमको वार्षिक २ प्रतिशत ब्याज तिर्नुपर्छ । चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा सहुलियत ऋण दिएको हो ।

४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्गमा एकैपटक ३ वटा अन्तराष्ट्रिय जहाज र ८ वटा आन्तरिक जहाज पार्किङ गर्न मिल्नेछ । विमानस्थल निर्माणपछि २ सय यात्रु क्षमताका विमान पोखरामा सहज अवतरण गर्ने सक्नेछन् । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भएपछि क्षेत्र नम्बर नयाँ विमानस्थल बनेपछि पोखराबाट भारत, चीन, थाइल्याण्ड, सिंगापुर, मलेसिया लगाएतका देशमा सिधा उडान हुने विश्वास छ ।

बोइङ–७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरु मात्र ल्यान्ड गर्न मिल्ने यसलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा प्रश्तुत गरिएको छ । अन्तराष्ट्रिय विमानस्थल तयार भएपछि हाल चलिरहेको विमानस्थलको प्रयोगका बिषयमा भने खासै छलफल भएको छैन । आदर्श समाज दैनिकमा खवर छ ।