पोखरामा १० लाख दिएर आफ्नै श्रीमतिको हत्या गर्न लगाए रमेशले

पोखरा, असार २६ ।
मकवानपुरका ३५ वर्षे रमेश नेपाली परिवारसहित रामबजारमा बस्थे । रामबजारमै उनको मोबाइल पसल छ । असार १ गते उनकी पत्नी लक्ष्मी एकाएक हराइन् । ३ गते रमेश पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगरको वडा नम्बर १५ मा पुगे । त्यसपछि उनले वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि फरकफरक जाहेरी दिए । १ लाख ५० हजार लिएर हिँडेकी पत्नी घर नफर्कंदा छोराछोरी बिचल्लीमा परेको जाहेरीमा उल्लेख छ ।

रमेशले ससाना छोराछोरीसहित सहयोगको याचना गर्दै हिँडे । दिनहुँजसो जिल्ला प्रहरी कार्यालय कास्की धाए । एक्लै होइन, आफन्त र सहयोगी लिएर उनी प्रहरी कार्यालय जान्थे । सञ्चार माध्यममा समेत उनले हारगुहार गर्न छाडेनन् । युट्युब च्यानलमा समेत पत्नी हराएकामा बलिन्द्रधारा आँसु झार्दै दुख मनाउ गरे ।

रमेशको क्रियाकलापलाई प्रहरीले निगरानी गरिरहेको थियो । तर हराएकी लक्ष्मीको कुनै अत्तोपत्तो नभएकाले प्रहरीले खोजी पनि गर्दै आएको थियो । लक्ष्मीले प्रयोग गरेको मोबाइल, सिक्री लगायत सामग्री घरमै भेटिएपछि प्रहरीले रमेशमाथि शंका गरेको हो । अनुसन्धानको घेरो साँघुरो बनाउँदै जाँदा रमेशमाथि नै प्रहरी केन्द्रित भयो । अन्ततः प्रहरीले रमेशलाई मंगलबार नियन्त्रणमा लियो । केरकार गर्दा उनी विस्तारै गल्न थाले ।

अन्ततः पत्नीको हत्या आफ्नै योजनामा भएको स्वीकारे । रमेशकै भनाइ अनुसार प्रहरी बुधबार घटनास्थल पुग्यो । घटनास्थल हो पोखरा महानगर २२ को ठुल्ढुंगाको जंगल । पृथ्वी राजमार्गबाट करिब ५ सय मिटर तल जंगलमा लक्ष्मीको अस्थिपञ्जर भेटियो । टाउको र शरीर छुट्टिएको अवस्थामा अस्थिपञ्जर भेटिएको थियो । अस्थिपञ्जरसँगै भेटिएका कपडा र जुत्ताको आधारमा आफन्तले शव लक्ष्मीकै भएको दाबी गरेका छन् । घटनास्थलमा कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीसहितको टोली नै पुगेको थियो ।

दोस्रो बिहे गर्न पत्नी हत्या !

लामो समयदेखि गोडामा समस्या भएकी पत्नी लक्ष्मीलाई जडिबुटी खोज्ने भन्दै असार १ गते रमेशले पुम्दीभुम्दीस्थित जंगलमा लगेका थिए । केही बहाना बनाएर आफू जंगलतिर छिरेपछि २ जना सहयोगीले लक्ष्मीको हत्या गरेको प्रहरीसामु रमेशले स्वीकारेका छन् । अर्कै महिलासँग माया बसेको र उनीसँग बिहे गर्नुपर्ने दबाब बढेपछि आफूले १० लाख रुपैयाँ दिने सर्तमा मान्छे लगाएर पत्नीको हत्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् ।

रमेशका अनुसार कबोल गरेको १० लाखमध्ये ६ लाख रुपैयाँ दिएको र बाँकी ४ लाख दिन बाँकी छ । हत्यामा संलग्नमध्ये १ जना पक्राउ परेको र अर्को १ जना पनि छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ । हत्यामा संलग्न अरु पनि रहे नरहेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अस्थिपञ्जर भेटिएको १ किलोमिटर पर बस्ती छ ।

करिब २०/२२ दिन अघि १ व्यक्तिले मानिस हराएको भन्दै ठुल्ढुंगा आसपासमा फोटोसहितको सूचना टाँसेको स्थानीयले बताए । सूचना टाँस्ने व्यक्ति पनि रमेश नै रहेको स्थानीयको अनुमान छ । अस्थिपञ्जर उठाएर प्रहरीले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।
पत्रकार सुरेशराज अधिकारीले समाधान दैनिक पत्रिकाका लागि यो समाचार लेखेका हुन् ।