पोखरामा विक्री हुने भैंसीको मासु सडेका र किरा परेका

पोखरा, असार १४ ।
पोखरामा विक्री हुने भैंसीको मासु किरा परेको र सडेको फेला परेको छ । अधिकांश विक्री हुने मासुमा किरा परेको मासु मिसिने गरेको अनुगमनको क्रममा भेटिएको हो । पोखराको मोहोरियाटोलमा रहेका भैंसी बध गर्ने ठाउँमा किरा परेको मासुहरु भेटिएको हो ।

बध गर्ने ठाउ नजिकै राखिने अधिकांश मासु तथा हाडखोरहरु दुर्घन्धित र किरा परेको र फ्रिजमा राखिएका मासुहरु समेत किरा परेर खान योग्य नरहेको पाइएको हो । मासु बध गर्ने टोलमा रगत बगेका पानी सिधै सडकको नालामा बगाउँदा मोहोरियाटोलको भित्री गल्ली समेत दुर्ग्न्धित बनेको स्थानियको गुनासो छ ।

महानगरले ब्यवस्थित बधशाला निर्माण गर्न नसक्दा अब्यवस्थित रुपमा जथाभावि भैंसी काट्ने र सडेगलेका मासु पनि बेच्ने गरिएको छ । अब्यवस्थित रुपमा बध गरी सडेका मासु बेच्ने ब्यवसायीहरुलाई पक्राउ गरी कास्की प्रशासनले अनुसन्धान थालेको छ ।बुधबार जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अनुगमन गर्ने क्रममा अब्यवस्थित तवरले घरभित्रै भैंसी वध गर्ने र वध गर्ने ठाउँमा किरा परेको मासुहरु ठूलो परिणाममा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

अनुगमनका क्रममा भैंसी बध गर्ने ठाउँमा किरा परेका मासुुहरु भेटिएको, फाल्न राखिएका हाडखोरमा समेत किरा परेको भेटिएको थियो । उनीहरुले कानुन विपरित काम गरेकोले कारबाही प्रक्रिया अघि बढाईने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार ब्यवसायीहरुले भैंसीका सडेका मासुलाई पनि राँगाको मासु भनि झुक्याएर बेच्ने गरेको पाईएको छ ।

पुनः यस्ता गल्ती दोहोरिए आगामी दिनमा पसल नै सिल गरिदिने उनको भनाई छ । ब्यवसायहिरुले चाहीँ महानगरको ब्यवस्थित बधशाला नभएका कारण खुला रुपमै बध गर्नुपर्ने बाध्यता परेको सुनाएका छन् ।

पत्रकार गीता रानाले मेरो हेडलाईन डटकमका लागि यो समाचार लेखेका हुन् ।