पोखरामा रेडक्रसकै एम्वुलेन्स दुरुपयोग, विरामी छोडेर दिनभरी पिकनिकको रमझममा

पोखरा, पुस ७ ।
एम्बुलेन्सको काम के हो ? विरामी ओसारपोसार गर्ने । तर नेपाल रेडक्रस सोसाईटी पोखरा महानगरपालिका वडा नम्बर १० र ११ ले सञ्चालन गरेको एम्बुलेन्स शनिवार दिनभरी दोविल्ला स्थित पिकनिक स्पटमा थियो ।

स्थानीय यूवाहरुको देउसीभैलोबाट उठेको रकमले पिकनिक खान गएका र एम्बुलेन्सवाला पनि त्यही पिकनिकका लागि दोविल्ला गएको बताईएको छ ।

‘गाडी चालकले एम्बुलेन्स आफ्नै घरमा राख्थ्यो । शनिबार पिकनिक रहेछ । उ पनि उतै गएछ, रेडक्रस अध्यक्ष समर श्रेष्ठले भने–गाडी धोएर साईडमा राखेको भनेको छ । बुझेर गल्ती गरेको भए कारबाही हुन्छ ।’ एम्बुलेन्स अहिले विरामी पुर्याउन गाउँ गएकोले फर्किने वित्तिकै चालकसँग बसेर कुरा गर्ने उनले बताए ।

विरामीलाई सघाउने हेतुले रामबजार समाज युकेले एम्बुलेन्स हस्तान्तरण गरेको हो । ग १ च ६९०७ नम्बरको एम्बुलेन्स पिकनिक स्पटमा देखेपछि एम्बुलेन्सको फोटो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।
तस्विर–डोलराज पोख्रेलको फेसबुकबाट