पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबार देखि शुरु

 

पोखरा, भदौं १५ ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा पोखराको लामाचौरमा शनिबार देखि सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र न्यू—डाईमण्ड एकेडेमी काठमाण्डौंले विजयी सुरुवात गरेका छन् ।

लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना गरिएको प्रतियोगितामा शनिबार विहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५–१४, २५–११, २५–१५ को सोझो सेटमा पराजित ग¥यो । त्यसै गरी दोश्रो खेलमा न्यू—डाईमण्ड एकेडेमिले चितवन टाईगर्स क्लवलाई २५–१४, २५–२०, २५–१४ को सोझो सेटमा पराजित गरेको छ ।

त्यस्तै दुई खेल भने बर्षाका कारण स्थगित भएको भए । गण्डकी प्रदेश बिरुद्ध श्रीराम खेलकुद विकास समिति दाङ बिच खेल जारी रहदा लगातार गण्डकी प्रदेशले दुई सेट लिएसंगै तेश्रो सेटमा बर्षाका कारण खेल स्थगित भएको छ । शनिबार नै हुने भनिएको अन्तिम खेल न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लब बिचको खेल स्थगित भएको हो । स्थगित खेल आज(आइतबार) विहान ७ बजे पछि हुने भएको प्रतियोगिताका खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।

सोमबार सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले गरे । उनले नव आदर्श सामुदायिक विकास समाजलाई अन्तराष्ट्रिय स्तरकै भलिवल प्रतियोगिता गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको बताए ।

प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५ हजार, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले जानकारी दिए ।