पोखरामा यतिले ७२ सीटे ठूलो जहाज उडाउने

पोखरा, असोज १७ ।
यती एयरलाईन्सले ७२ सीट क्षमता भएको एटिआर ७२–५०० जहाज पोखरा उडाउने भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान लागेको हो । बुधबारदेखि नै उडानको तालिका बनाएको कम्पनीले जनाएको छ ।

यतीका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुईवटा उडान एटिआर ७२–५०० बाट गर्ने तालिका बनाइएको छ । यात्रु संख्या बढेको खण्डमा आवश्यकता अनुसार उडान थप्न सकिने उनले बताए । एटिआर बाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने उनले बताए । यतीले काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बनाएपनि दैनिक १० वटासम्म उडान नियमित रुपमा भइरहेको उनले बताए ।

७२ सिट भएपनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पूर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन । बढीमा ६० जना यात्रु एउटा उडानबाट आउजाउ गर्नेगरी हालका लागि उडान थाल्ने उनको भनाई छ ।