पोखरामा माछापुच्छ्रे टेनिस–डेढ दशकपछि फर्किएका जोनको उत्कृष्ट सुरुवात

धन बस्नेत
पोखरा, पुस १० ।
दुई सर्भिस प्वाइन्ट ब्रेक गर्दै र आफनो दुई सर्भिस प्वाइन्ट गुमाउँदै कम व्याक गरेका अनु जोन पोखराको टेनिस कोर्टमा फेरी एकपटक छाएका छन् । पोखराको टेनिसमा अग्रज रहेका जोनले पोखरामा सोमबारदेखि शुरु भएको १५ औं माछापुच्छ्रे बैक टेनिस प्रतियोगितामा काठमाडौंका निरेश श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरे । डेढ दशकपछि पोखराको कोर्टमा फर्किदै प्रतियोगितामा सहभागि बनेका जोनले ३५ वर्षको उमेर समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । सिंगापुरमा व्यवसायिक टेनिस प्रशिक्षक समेत रहेका जोनले दोस्रो सेटमा केही “इरर” सर्भिस र सेट प्वाइन्ट गुमाउन पुगे । २०२४ सालमा जन्मिएका जोनले पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्मित हार्डकोर्टमा टेनिस खेल्न थालेका हुन् । २०३८ सालमा शुरु गरेको उनले १५ वर्षको उमेरमै जुनियर च्याम्पियन बने । काठमाडौंमा आयोजित राष्ट्रिय जुनियर च्याम्पियनमा सम्भवत पोखराको लागि टेनिसको पहिलो पदक जितेका हुन् । त्यसपछि १६ वर्षको उमेरमा नेपालको प्रतिनिधित्व गर्दै जोनले बंगलादेशमा आयोजित जुनियर च्याम्पियनसिपमा सहभागिता जनाए ।
पोखरामा २०४० सालमा आयोजित दोस्रो राष्ट्रिय खेलमा उनले रजत पदक जिते । टिम इभेण्टमा पनि रजत पदक जितेका थिए । त्यसपछि भारतको बंैगलोरमा टेनिस प्रशिक्षण गर्न गए । पोखरामा टेनिसको खासै खेल्न थालिएको थिएन् । यद्यपी उनी भारत र सिंगापुरबाट फर्किएपछि टेनिस प्रति रुचि भएका साथीभाइलाई बोलाएर टेनिस खेल्ने र सिकाउँथे पनि । जोन विगत डेढ दशकदेखि सिंगापुरमा व्यवसायिक रुपमा टेनिस सिकाउँदै आएका छन् । त्यसैगरी ३५ वर्ष माथिकै अन्य खेलहरुमा शंकर कार्कीले जन्मजय शम्शेर जबरालाई ६–३, ६–२ ले, राजन बिजुक्छेले कृष्ण केसीलाई ६–३, ६–२ ले, डा.देव थापाले भष्म काउछालाई ६–४, २–६ र सुपरटाईमा १०–५ ले पराजित गरे । त्यसैगरि शिब सुवेदीले सुनिल भट्टराईलाई ६–१, ७–५ मा, प्रकाश वाग्लेले चन्द्र लामालाई ७–५, ५–७ र र सुपरटाईमा १०–६ को प्रतिस्प्रधात्मक सेटमा पराजित गरे भने नविन श्रेष्ठले मुनिष थापामाथि ६–२, ६–३ को नतिजा निकाले । बिरेन्द्र लामा र सूर्य शाहीले वाकओभरको आधारमा दोश्रो चरणमा स्थान बनाए ।
३५ वर्ष माथिको डबल्सतर्फ दोर्जे लामालाई जोडी बनाएका अनु जोनले शेसमणि चौधरी र भष्म काउछाको जोडीलाई ६–२, ६–१ को सेटमा पराजित गरे । शसक्त मानिएका पोखराका गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडी भने पहिलो खेलबाटै बाहिरिए । काठमाण्डौका हिमाल शाह र राजु क्षेत्रीको जोडीले गोपी र धरमको जोडीलाई ६–७, ६–३ र सुपरटाईमा १०–४ ले पराजित गरेका हुन् । लोक गुरुङ्ग र राजन पौडेलको जोडीले राजन बिजुक्छे र शिब सुवेदीको जोडीलाई ६–४, ६–० को सोझो सेटमा पराजित गरे । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छे्र बैंकका अध्यक्ष रोशन केसीले एक समारोहका विच उद्घाटन गरे । पोखराबाटै शुरु भएको बैंकले पोखरामै हुने राष्ट्रिय प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जाहेर गरे ।