पोखरामा बसको ठक्करले मोटरसाईकल चालकको मृत्यु

पोखरा, बैशाख १२ ।
पृथ्वी राजमार्गअन्तर्गत पोखरा–२६, बूढीबजारमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार राति पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ निवासी ३९ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारक्रममा क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ग ६प ३०२९ नं को मोटरसाइकलमा सवार तिमिल्सिनालाई बसले राति पौने ९ बजे ठक्कर दिई घाइते बनाएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि बस फरार रहेको थियो । बुधवार प्रहरीले बस चालक पोखरा–२९ निवासी ४५ वर्षीय रविन केसीलाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ ।

पृथ्वीराजमार्ग बस संचालक समिति पदाधिकारी र पीडित पक्षबीच बुधवार वार्ता भए पनि क्षतिपूर्ति र चालकलाई हदैसम्म कारबाही विषयमा सहमति हुन नसकेपछि वार्ता विफल भएको थियो । पीडित पक्ष घटना भएपछि भागेका चालकलाई कडाभन्दा कडा कारबाहीको ग्यारेण्टी नभएसम्म शव नबुझ्ने अडानमा छन् । आदर्श समाज दैनिकले खवर छापेकाे छ ।