पोखरामा प्याराग्लाईडिङको सोलो उडान फेरि खुल्यो, दुई कम्पनी कालोसूचीमा

पोखरा, चैत १३ ।
दुर्घटना बढेसँगै बन्द भएको पोखराको प्याराग्लाईडिङ सोलो उडान पुनः खुलेको छ । लगातार दुर्घटनामा मानवीय क्षति भएपछि नागरिक उड्ययन प्राधिकरणले सोलो उडानमा रोक लगाएको थियो । प्राधिकरणको आइतबार बसेको बैठकले उडान पुनः खुला गरेको हो ।

लगातार तीन दिनसम्म भएको दुर्घटनापछि गत फागुन २१ गतेबाट प्रतिबन्ध लगाइएको सोलो प्याराग्लाइडिङ २० दिनपछि फुकुवा गरेको क्यान पोखराले जनाएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।

सोलो प्याराग्लाइडिङले तोकिएको एयर स्पेस भन्दा बाहिर उडान भरेपछि दुर्घटना बढेको थियो । दुर्घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै अहिलेसम्म पनि ब्लु स्काई र फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनीलाई क्यान पोखराले कालो सूचीमा राखेको छ ।