पोखरामा पनि बिजुली बस चल्ने

पोखरा, जेठ २० ।
गण्डकी प्रदेश सरकारले बिजुलीबाट चल्ने बस सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा आगामी वर्षदेखि बिजुलीबाट बस सञ्चालन गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने ‘नयापुलदेखि घान्द्रुक उरीसम्म’को बाटो पिच गर्ने कार्यको आइतबार शिलान्यास कार्यक्रममा उनले अबको एक वर्ष भित्रै पोखरामा बिजुलीबाट बस सञ्चालन भइसक्ने ठोकुराव गरे ।

बिजुली उत्पादन बढेसँगै बिजुली खपत पनि बढाउनु परेको छ– गुरुङले भने,‘त्यसका लागि एक वषभित्रै पोखरामा बिजुली बस सञ्चालनको ब्यबस्था गर्छौं ।’ उनले बिजुली बस ल्याउनका लागि प्रेरित गर्न बिजुली बसको भन्सार शुल्क घटाउने योजना सुनाए । बिजुलीबाट चल्ने गाडीको प्रवद्र्धन गर्नुका साथै पोखरा बजारको मूख्य चोकचोकमा चार्जिङ स्टेसन राखिने उनले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले सडक निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई प्रदेश सरकारले नछाड्ने चेतावनी पनि दिए । त्यसै गरि गण्डकी प्रदेशमा २ हजार २ सय कर्मचारी आवश्यक भएपनि हालसम्म ९ सय कर्मचारी मात्रै आइपुगेको बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको बताए । अबको ४ वर्ष्भित्र स्थानिय तहका केन्द्रहरुको लिंक रोड बनाइसक्ने घोषणा गर्दै उनले त्यसलाई प्राथमिकतामा राखेर बजेट आउने बताए ।