पोखरामा नेपालकै ठूलो पार्क बन्ने, २४ करोड लगानी हुँदै

पोखरा, बैशाख १ ।
पोखरामा २४ करोडको लागतमा फनपार्क बन्ने भएको छ । हाईड्रोपावरमा लगानी गर्दै आईरहेका १३ जना युवाहरुको आयु ग्रुपले आयु ईन्टरटेनमेन्ट्स प्रालिको नामबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ महतगौंडास्थित ढुंगेसाँघुमा फिस्टेल ड्रिमपार्क बनाउन लागेका हुन् ।

ड्रिमपार्क यसअघि ढुंगेसाँघु मेला लाग्ने स्थलको माथिल्लो क्षेत्रमा निर्माण गर्न लागिएको हो । तल्लो क्षेत्र खाली नै रहेकाले ढुंगेसाँघु मेलालाई भने आंशिक रुपमा मात्रै असर गर्नेछ । यो ड्रिमपार्क निर्माण गर्न लागेको कम्पनीले पुवा खोला–१ जलविद्युत आयोजना, ओखलढुंगामा मलुन हाईड्रोपावर र दार्चुलामा छेतिगार्ड हाइड्रोपावर बनाइरहेको कम्पनीका कार्यकारी अध्यक्ष कदम केसीले जानकारी दिए ।

कम्पनीको शेयर होल्डर १३ जना रहेको र बोर्ड मेम्बर अध्यक्षसहित ५ जना रहेको केसीले बताए । एक वर्षभित्र बनाईसक्ने लक्ष्य राखिएको यो ड्रिम मपार्कको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले विहीबार शिलान्यास गरे ।

६५ रोपनी क्षेत्रफलमा बन्ने यो ड्रिमपार्कमा ३० वटा छुट्टाछुट्टै ईभेन्ट रहने जनाइएको छ । जहाँ वालवालिकाका लागि किड्स जोन, युवाहरुका लागि युथ जोन र उमेर पुगेकाहरुका लागि एडल्ट जोन बनाईनेछ । जसमा वाटर जोन छुट्टै हुनेछ । वाटर जोन पनि किड्स, युथ र एडल्ट तिनै उमेर समूहलाई हुनेगरी वाटर स्प्लास, वाटर स्लाईड बनाईनेछ ।

बनाउन लागिएको ड्रिमपार्क नेपालकै सबैभन्दा ठूलो फनपार्क बन्ने निर्माण कम्पनीको दाबी छ ।

बनाउन लागिएको ड्रिमपार्क नेपालकै सबैभन्दा ठूलो फनपार्क बन्ने निर्माण कम्पनीको दाबी छ । यो पोखराकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने उनले बताए । उनले भने,’पोखरा आफैमा पर्यटकीय गन्तव्य हो, तर यहाँ समय बिताउने ठाउँ प्रशस्त छैन, अब यो ड्रिमपार्कले त्यसको पूर्ति गर्नेछ ।’

पोखराबाट शुरु भएको फनपार्क निर्माण अभियान काठमाडौं हुँदै नेपालका प्रमुख सहरहरुमा पुर्याईने उनले बताए । फनपार्कमा वाषिर्क १ लाख ७० हजार भन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखेर निर्माण शुरु गरिएको बोर्ड सदस्य पौडेलले बताए । पोखरा आएर फनपार्क घुम्नैपर्ने गन्तव्यका रुपमा विकास गर्ने बताउँदै उनले भने,’यहाँ आएर फनपार्क पुगिएन भने खल्लो हुन्छ, त्यहाँ त छुटाउनै हुँदैन भन्ने प्रमुख पर्यटकीय गन्तव्य बनाउँछौं ।’

शिलान्यास कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले बन्न लागेको ड्रिमपार्क पोखराको पर्यटनका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले यस्तो प्रोजेक्ट निर्माणका लागि वडा कार्यालयको साथ र सहयोग सदैव रहने बताए ।