पोखरामा नेकपाको चुनावीसभा नजिकै विस्फोट, एक घाईते

पोखरा, मंसिर ११ ।
पोखरामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुनावीसभा नजिकै विस्फोट हुँदा एकजना घाईते भएका छन् । नयाँ बजारको प्रदर्शनी केन्द्रमा चुनावीसभा चल्दै गर्दा विस्फाृट भएको हो । विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर धनादेवी विक घाईते भएकी छिन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रम स्थलमा प्रवेश गरेको केहीबेरमै ठूलो आवाजमा विस्फोट भयो । ठूलो आवाजमा भएको विस्फोट र धुवाँका कारण केहीबेर कार्यक्रम स्थलमा त्रास बढ्यो । प्रहरीले सामान्य विस्फोट भनेर आश्वस्त पारेपछि वातावरण शान्त भएको थियो । विस्फोट स्थलको आडमा ठूलो पर्खाल भएका कारण खासै क्षति हुन पाएन ।

प्रहरीले विस्फोटमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ । तर पक्राउ परेका ब्यक्ति र विस्फोट भएको बमका बारेमा कुनै जानकारी दिएको छैन । शक्तिशाली बम नभएको र उपस्थिति जनाउनका लागि मात्रै विप्लव समूहले विस्फोट गराएको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले जानकारी दिए ।

‘तर्साउनका लागि राखेजस्तो देखिन्छ । खासैै शक्तिशाली बम होईन,’ उनले भने, ‘एकजना पक्राउ परिसकेका छन् । अनुसन्धान जारी छ । विप्लवकै कार्यकर्ता पक्राउ परेकोले अनुसन्धान नजिक पुगेका छौं ।’ पक्राउ परेकामाथी अनुसन्धान चलिरहेकोले केही बोल्न नमिल्ने उनले सुनाए ।

बम विस्फोट भएपछि कार्यक्रम स्थलमा सुरक्षा जाँच निकै कडा पारिएको छ । केही दिनअघि पनि पोखरा ३३ का वडाध्यक्षको गाडीमा विस्फोट भएको थियो । दिनहुँ भैरहेको विस्फोटले सुरक्षा चुनौति बढाएको छ ।