पोखरामा नक्कली सुनको गिरोह पक्राउ

पोखरा, असोज १ ।
पोखरा क्षेत्रमा नक्कली सुनको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सुन सहित पक्राउ परेका चार जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा तनहुं म्याग्दे गाउँपालिका २ नम्बर वडाका रबिराज खनाल र बुर्तिबाङ घर भई ढोरपाटन बस्दै आएका छम बहादुर केसी, लमजुङको मस्र्याङदी गाउँपालिका वडा नम्बर ३ का राजु तामाङ र सुन्दर बजार नगरपालिका ८ बलथुम बस्ने प्रेम बहादुर परियार दमैलाई छन ।
प्रहरीका अनुसार उनीहरुले पोखरा लेखनाथ क्षेत्रमा ठगी गरिरहेको गोप्य सूचनाका आधारमा ४ नं. प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धानको टोलीले भदौ ३० गते पक्राउ गरेको कास्की प्रहरीका डिएसपी खड्क वहादुर खत्रीले जानकारी दिए । पक्राउ परेका मध्ये खनाल र खत्रीले धातुलाई सुनको जलप दिएर १ किलो ५ सय ग्राम वनाई विक्रि गर्न लागेका थिए । प्रहरीका अनुसार ठगी अभियोग लागेका खनालले उक्त सुनलाई १६ लाखमा बिक्रि गर्न लागेका थिए ।
घटनामा संलग्न रहेका राजु तामाङ्ग र प्रेम बहादुर परियार दमैलाइ भने प्रहरीले सुन ठगीकै अभियोगमा समातेको हो । उनीहरुले भदौ १९ गते पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ बुढीबजार बस्ने सरस्वती गुरुङलाई सुनको मुर्ती धितो राखेर ६ लाख ६५ हजार ठगेर वेपत्ता भएका थिए । प्रवक्ता खत्रीले उनीहरु चारै जना एउटै गिरोहको भएको र एउटा काम सफल भए पश्चात दोश्रो ठगी काममा हात हाल्दा प्रहरीको फन्दामा परेको बताए ।
नासो राखिएको सुनको मुर्ती लिन नआएपछि गुरुङ्ग आफु ठगिएको चाल पाएकी थिइन । गुरुङ्गले प्रहरीमा जाहेरी दिए पछि ठगी गर्नेहरुको व्यापक खोजी भइरहेको वेला खनाल र केसी १ किलो ५ सय ग्रामको नक्कली सुनको ढिक्का सहित पक्राउ गर्न सफल भएको प्रवक्ता खत्रीले जानकारी दिए । उक्त ठगी काण्डमा समेत खनाल र केसी समेतको संलग्नता रहेको प्रहरीले जनाएको छ ।