पोखरामा थप १६ जनामा कोरोना पुष्टी, बैंकका कर्मचारीदेखि मोवाईल पसलेसम्म

पोखरा, भदौ १२ ।
शुक्रबार पोखरामा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकाहरुमा बैंकका कर्मचारी, ईन्जिनियर, मोवाईल पसल सञ्चालक, पर्यटन प्रहरी, औद्योगिक क्षेत्रमा काम गर्ने रहेका छन् ।

कोरोना पुष्टि हुनेमा पोखरा १ का १८ वर्षीय पुरुष रहेका छन् । उनले मोबाइल पसल सञ्चालन गर्ने रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यसै गरी पोखरा २ का २५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर २ का संक्रमित कामना विकास बैंक दिप शाखामा कार्यरत व्यक्ति हुन् । त्यस्तै पोखरा ३ का २९ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको छ । उनी एभरेस्ट बैंक अमरसिंङचोक शाखामा कार्यरत छन् । त्यस्तै पोखरा ५ का ३३ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी पोखराको औद्योगिक क्षेत्रमा कार्यरत रहेको उनले बताए ।

यस्तै पोखरा महानगरपालिका वडा नम्बर ११ का ५६ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा १४ का २७ र ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नम्बर १४ का ३५ वर्षीय पुरुष इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत व्यक्ति हुन् । त्यस्तै वडा नम्बर १६ को थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ३१ र ३९ वर्षीय महिला तथा ३५, ४९, ५२ र ६८ वर्षीय पुरुष रहेका छन् । त्यसै गरी दुई जना पर्यटक प्रहरी रहेका छन् । गण्डकी प्रदेशमा शुक्रबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा कोरोनाबाट लमजुङका एक पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिले सम्म १० जनाको मृत्यु भएको छ ।