पोखरामा ट्याक्सीवालाको दादागिरी, मिटर देखाएर मनपरी भाडा

पोखरा, चैत १८ ।
पोखरामा मिटरमा ट्याक्सी चलाउन प्रशासनले कडाई गरेपछि यात्रु झनै ठगिएका छन् । यहाँ चल्ने सबै ट्याक्सीमा मिटर राख्न प्रशासनले निर्देशन गरेको छ । तर केहीमात्रै ट्याक्सीवालाले मिटर जडान गरेका छन् । मिटर नजोडेका ट्याक्सीले अझैपनि यात्रुसँग बार्गेनिङ गरेर चढाउँछन् । मिटर राखेका ट्याक्सी चालकले पनि मिटरअनुसार जान नसकिने भन्दै बार्गेनिङ अनुसार पैसा नपाए यात्रुलाई सेवा दिँदैनन् । ‘यो १० बर्ष पूरानो भाडादर हो । मिटरमा चलाएर पेट भोकै राख्ने हो र ?, यात्रुसँग बार्गेनिङ गर्दै उनीहरु भन्छन्–मिटर चलाउँछौं । तर थपेर पैसा दिनुपर्छ ।’ भाडा समायोजन गरेमात्रै मिटरमा चल्ने एक ब्यवसायीले बताए । ‘मिटरमा चलेर तेल खर्च पनि आउँदैन । घरका जहान छोराछोरी कसरी पाल्ने, उनले भने–हामी पनि कमाई होला भनेर ट्याक्सी चलाएका हौं । धर्मशाला खोलेको हो र, सेवा मात्रै गर्न ?’
जिल्ला प्रहरी कार्यालयको अगुवाईमा प्रशासन र ट्याक्सी ब्यवसायी समिति बीच बार्ता हुँदा यही भाडादरमा मिटर चलाउन ब्यवसायी राजी भएका थिए । तर अहिले कुनैपनि ट्याक्सीले नियम कार्यान्वयन गरेका छैनन् । उनीहरुले बढी भाडा असुल्न पाउनुपर्ने भन्दै पटकपटक आन्दोलन गर्दै आएका थिए । अहिले पनि यात्रुले मिटरको कुरा गर्दा उल्टै झपारेर फर्काउँछन्, ट्याक्सीवाला हरु । प्रहरीको अगाडी मिटर बालेर यात्रुसँग चाहीँ छुट्टै मोलमोलाई गर्ने गरेका उनीहरुलाई प्रशासनले अनुगमन भने गर्न सकेको छैन ।
यसरी यात्रु ठग्ने काम उपभोक्ताको हित विपरित भएको उपभोक्ता हित संरक्षण मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् । ‘मिटर देखाएर मोलमोलाई गर्नु त झनै डरलाग्दो अपराध हो । लिगल अपराध गरेका ब्यवसायीहरुलाई कारबाही गर्नुपर्छ, उनले भने–उपभोक्ताले तोकिएको मुल्यमा यात्रा गर्न पाउने अधिकार छ । त्यसको प्रत्याभुति हुनुपर्छ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले मिटरमा नचलेका ट्याक्सीलाई कारबाही गर्ने बताए । ‘मनपरी भाडा असुल्न पाईंदैन । त्यस्ता ट्याक्सीलाई कारबाही हुन्छ, उनले भने–यात्रुपनि अलि सचेत हुनुपर्यो । हामीलाई सूचना दिए तत्काल कारबाहीको दायरामा ल्याउँछौं ।’ मिटरमा नचलेका ट्याक्सीलाई दिनहुँजसो कारबाही गर्ने गरेको उनको भनाई छ ।