पोखरामा खोरेतको प्रकोप–पशु ओसारपसार गर्न रोक

पोखरा, असोज ७ ।
पोखरामा खोरेत रोगको प्रकोप देखिएको छ । विभिन्न ठाउँहरुमा खोरेत रोग देखा परेपछि महानगरले पोखराभित्र पशुबस्तु आयात र निर्यातमा रोक लगाएको छ । आईतबार सूचना जारी गरी रोगको प्रकोप निर्मुल नभएसम्म पशुबस्तु आयात निर्यात नगर्न आग्रह गरिएको हो ।

महानगरको पशु शाखा प्रमुख तथा पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले खोरेतको कारण पशुपालक किसान तथा ब्यवसायिक फार्मवालाहरुलाई पशु खरिद विक्रि पनि नगर्न आग्रह गरे । ‘यस्तो बेला बाहिरको पशु भित्र्याउन हुँदैन । यताका पनि बाहिर पठाउन मिल्दैन, उनले भने–जतिसक्दो छिटो आफ्ना गोठ र फार्महरुमा जैविक सुरक्षा अपनाउने हो ।’ खोरेतको संक्रमण नभएको ठाउँमा पनि तुरुन्तै खोरेत खोप लगाउन उनले सुझाव दिएका छन् ।

खोरेत के हो ?

खोरेत गाई, भैसी, बाख्रा, सुगुँर, बँगुर, बदेल, हात्ति लगायत खुरखुट्टा जंगली जनावरमा देखा पर्ने भयानक सरुवा रोग हो । अन्य महामारी रोगको तुलनामा यो रोग विभिन्न जनावर जातमा एकै पटक देखा पर्न सक्ने, धेरै जनावर प्रभावित भएपनि थोरै मात्र मर्ने गर्दछ । खोरेत रोग धेरै जनावरलाई लाग्न सक्ने, रोग लागि निको भएका उग्राउने जनावर तथा बाहिरी बातावरणमा लामो समय रोगाणु जीवित रहन सक्ने भएकोले नियन्त्रण तथा उन्मुलन गर्न अति नै कठिन मानिन्छ ।

खोरेत रोगको विषाणु अति खतरनाक किन मानिन्छ ?

खोरेत विषाणु अति सुक्ष्म, थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको, बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुन्छ । दुषित घाँसपातमा १ महिनासम्म जीवित रहन्छ भने हड््डीसहितको फ्रोजोन मिटमा लामो समय बाँचिरहन्छ । खेरेत विषाणु भूसतहमा ६० किलोमिटर र समुन्द्री सतहमा ३०० किलोमिटर हावाको माध्यमबाट पार गर्न सक्दछ ।

छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्नसक्ने क्षमताका कारण यो रोग महामारीको रुपमा फैलिन्छ । झवाट्ट र्हेदा खोरेत रोग एकै किसिमको हुने भान परेता पनि वास्तवमा रोगको प्रकोप, महामारीको रुप र विरामी जनावरमा देखा पर्ने घातक स्थिति धेरै हदसम्म खोरेत विषाणुको जात, उपजात र स्ट्रेनमा निर्भर गर्दछ ।