पोखरामा ‘कर्पोरेट कल्चर’ हुने

पोखरा, मंसिर १५ ।
पोखराको ‘कर्पोरेट कल्चर’को विकास गर्ने उद्देश्यसहित हुन लागेको दोस्रो संस्करणको ‘कर्पोरेट कनेक्शन’ को तयारी करिब अन्तिम चरणमा पुगेको छ । इभेन्ट कम्पनी ‘एएसएपी’ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी दिएको हो । कार्यक्रम आगामी मंसिर १६ गते चाउथेस्थित ‘रोयल पाम रिसोर्ट’मा हुँदैछ ।
‘पोखरा एउटा इमर्जिङ सिटी हो । र, यहाँको कर्पोरेट कल्चर दिनानुदिन बढ्दैछ । यद्यपी सोहि कुरालाई सपोर्ट गरोस् भन्ने हेतुले हामीले यो कन्सेप्टमा इभेन्ट ल्याएका हौँ ।’ आयोजक संस्था एएसएपीका अध्यक्ष सन्तोष अधिकारीले भने–‘अघिल्लो सँस्करणको बेलामा यो इभेन्टको सक्सेस रेटले पनि हामीलाई पुनः यो कार्यक्रम गर्न उक्साएको हो ।’ उनले यो इभेन्टलाई हरेक वर्ष गरिने जानकारी समेत दिए ।
कर्पोरेट क्षेत्रका मानिसहरुबीचको संजाल विस्तार, रिफ्रेसमेन्ट, अन्तरक्रिया र आइडिया शेयरिङलाई थिम बनाएर आयोजकले यो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा कर्पोरेट क्षेत्रका मानिसहरुलाई लक्षित गर्दै रञ्जित आचार्यको विशेष प्रवचन समेत राखिएको छ । आचार्यले ‘कर्पोरेट’ क्षेत्रका मानिसहरुलाई प्रोत्साहन गर्ने खालको प्रवचन कार्यक्रममा दिनेछन् । त्यो बाहेक उनीहरुलाई ‘रिफ्रेशमेन्ट’को लागि विशेष साँगीतिक तथा हाँस्य कार्यक्रम पनि त्यो दिन हुनेछ ।
साँगीतिक तथा हाँस्य कार्यक्रममा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा, नायिका निता ढुंगाना, हाँस्यकलाकार जोगिन्दर पानवाला र जादुगर सुरज मैनालीको विशेष प्रस्तुती रहनेछ । कार्यक्रमको होस्टको रुपमा जिपी तिमिल्सिना र निशा पन्थी रहेका छन् ।
२०१६ मा स्थापित इभेन्ट कम्पनी ‘एएसएपी’ले यसअगाडि सोहि वर्ष ‘कर्पोरेट कनेक्सन’को पहिलो सिजन गरेको थियो । ‘कर्पोरेट’ क्षेत्रका मानिसहरुबीचको ‘गेट टुगेदर’ले आपसी भाईचाराको विकास गर्न सहयोग गरेको भन्दै यो ‘इभेन्ट’को पुनः माग भएपछि कम्पनीले यसलाई वर्षेनी आयोजना गर्ने तयारी गरेको हो । यो कम्पनीले नेपालसँगै अष्ट्रेलियामा पनि विभिन्न खाले इभेन्टहरु गर्दै आएको छ । यो बीचमा कम्पनीले अष्ट्रेलियामा फिल्म प्रदर्शन, साँगीतिक कार्यक्रम गरिसकेको छ भने अब एउटा नेपाली फिल्म निर्माणको तयारीमा छ ।