पोखरामा एपेन्डिक्सको उपचार गर्न गएकी महिलाको पाठेघरको अपरेसन गरियो

पोखरा, असोज ९ ।
कुनैपनि बिरामीको शल्यक्रिया पूर्व आवश्यक चाँज गरेर बिरामी तथा आफन्तको सहमतिमा मात्रै शल्यक्रिया हुनेगर्छ । शल्यक्रिया हुनु पूर्व वास्तविकता जानकारी गराइनुपर्ने भएपनि पोखरा सिर्जनाचोकस्थित फेवासिटी अस्पतालमा भने बिरामीलाई एपेन्डिसाइटिस भएको बताएर पाठेघरको शल्यक्रिया गरेको घटना बाहिर आएको छ ।

पोखराको नयाँ गाउँका सुरज थापाकी श्रीमती सबिता राई थापाले कोखा दुखेका कारण फेवासिटी अस्पतालको इमरजेन्सीमा जाँच गराइन् । त्यहाँ भएका डाक्टरले उनलाई एपेन्डिक्स भएको र तत्काल अपरेसन गर्नुपर्ने सुझाए । डाक्टरको सुझाव अनुसार बिरामीको रगत पिसाब सबै चेक गरियो र एपेन्डिक्स नै भएको निधो गरेर भोलिपल्टका लागि अपरेसन फिक्स गरियो ।

भोलिपल्ट ४ बजे सबितालाई अपरेसन गर्न थिएटरमा लगियो र अपरेसन सुरु गरियो । अपरेशन गरेर आधा घण्टामा अपरेशन थिएटरबाट बाहिर निकाल्न नपाउँदै डाक्टरले आएर उनको एपेन्डिक्सको नभई पाठेघरको अपरेशन गरेको भनेर बल्ल उनका श्रीमानलाई जानकारी गराययो , त्यसपछि सुरज एकाएक आश्चर्यमा परे । वास्तवमै उनीहरुलाई झुक्याएर एपेन्डिक्सको समस्या छ भनेर पाठेघरको अप्रेशन गरिदिएको रहेछ ।

अस्पतालका त्रिभुवन पराजुलीले एपेन्डिक्स भनेर अपरेसन गरेको भएता पनि उनको समस्या एपेन्डीक्सको नभई पाठेघरको समस्या भएको बताएका छन् । अस्पतालले उनको पाठेघरको अप्रेसन गरिदिएको र उनको पाठेघरमा बच्चा बसेको दाबी गरिरहेको छ, तर थापा परिवार त्यो मान्न तयार छैनन् ।

पीडितका अनुसार उनको पिसाब पोल्ने समस्याका कारण एक महिना अगाडि पोखराकै पद्म नर्सिङ होममा जँचाएको र एक्स–रे गर्दा बच्चा नरहेको साथै फेवासिटी अस्पतालमा नै उनको पिसाब तथा भिडियो एक्स–रे गर्दा समेत बच्चा नरहेको रिर्पाेट दिएको थियो ।

अस्पतालकी गाइनोकोलोजिस्ट चन्द्रिकाले पीडितलाई अब गर्भवती हुनसक्ने सम्भावना ३० प्रतिशत मात्र रहेको बताएपछि आफन्त झनै चिन्तित छन् । हाल आएर पीडित थापाले आफूलाई पूर्ण रुपामा स्वस्थ्य बनाइनुपर्ने र गर्भधारण गर्न सक्ने अवस्थामा फर्काउन अस्पतालले जिम्मेवारी लिनुपर्ने अडानमा छिन ।