पोखरामा अन्तराष्ट्रिय स्तरको द कासांग च्यालेन्ज हुने

पोखरा, कार्तिक ५ ।
पोखरामा कार्तिकको पहिलो साता अन्तराष्ट्रिय स्तरको द कासांग च्यालेन्ज हुने भएको छ । नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेश पोखराको आयोजनामा पोखरामा कार्तिक ८ र ९ गते द कासांग च्यालेन्जको आयाजना गर्न लागिएको हो ।

उक्त प्रतियोगितामा साइक्लिङ, रनिङ र कायाकिङमा प्रतिस्पर्धा गरिने आयोजक नारा गण्डकी प्रदेशका अध्यक्ष विरेन्द्र लामाले जानकारी दिए । लामाका अनुसार कासांग च्यालेन्जमा सहभागीता जनाउनेले पोखराको हल्लनचोकदेखी याम्दी दोभान सम्म ७।५ किलोमिटर दुरीमा साइक्लिङ, याम्दी दोभानदेखी मर्दीखोला दोभान सम्मको ६।५ किलोमिटर दुरीमा रनिङ गरी मर्दी खोला दोभानदेखी याम्दी दोभान सम्म ८ किलोमिटर दुरीमा डाउन रिभर रेस कायाकिङ गर्नेछन ।

पुरुष र महिला गरी दुइ विधामा सम्पन्न हुने उक्त प्रतियोगितामा पुरुष र महिला तर्फ दुवै विद्यामा सहभागीले प्रथम पुरस्कार १ लाख , दोश्रो हुनेले ५० हजार र तेश्रो हुनेले २५ हजार प्राप्त गर्नेछन ।

त्यसैगरी साइक्लिङ र रनिङ समेत दुवै विद्यामा प्रथम हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १० हजार नगद प्राप्त गर्ने प्रतियोगिताका टेक्निकल को अर्डिनेटर नाराका निवर्तमान केन्द्रिय अध्यक्ष निम बहादुर मगरले जानकारी दिए । दुइ दिन सम्म चल्ने उक्त प्रतियोगितामा नेपाल संगै क्यानडा, भारत, अष्ट्रेलिया, इङ्ग्याण्ड, वेलायत, अर्जेन्टिना, अष्ट्रिया, फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, न्युजील्याण्ड, जापान लगायतका २०० जनाको सहभागीता रहनेछ ।