पोखरामा अन्तराष्ट्रिय फुटवल स्टेडियम बन्ने, १ अर्वमा टेण्डर आह्वान

पोखरा, कार्तिक ७ ।
लामो समयको प्रतिक्षापछि अन्ततः पोखरा रंगशालामा फुटबल स्टेडियम बन्ने भएको छ । स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले मंगलबार ग्लोवल टेण्डर आह्वान गरेको छ । १० महिनाभित्रै काम सकिने गरी टेण्डर प्रकाशन गरिएको हो ।
परिषदले १३ औं साग लाई मध्येनजर गर्दै पोखराको फुटबल स्टेडियम स्तरोन्नतीको तयारी थालेको हो । स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचलाय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फरेन्स कक्ष निर्माण हुनेछ । योसँगै फुटबल मैदान फिफाले तोकेको मापदण्डमा बन्नेछ ।
स्टेडियम चाहीँ २० हजार दर्शक अट्ने क्षमताको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख छ । स्टेडियममा आधुनिक ल्फड लाइट सहित स्कोर वोर्ड, डिस्प्ले वोर्ड समेत राखिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । उनका अनुसार २०७४ मंसिर २ गते सम्म टेन्डर खरिदका लागि अन्तिम समय दिइएको छ ।
स्टेडियम निर्माणका लागि १ अर्व रुपैयाँ लगानी हुनेछ । ‘स्टेडियम तयार भए सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुदका धेरै खेलहरु पोखरामा हुनेछन्, उनले भने–हामी त्यसैको तारगेट पूरा गर्ने अपेक्षामा छौं । स्टेडियमले पोखराको खेल विकासमा कोशेढुंगा सावित हुनेछ ।’