पोखरामा अख्तियारको कडा अपरेसन–२ दिनमा साढे ५ लाख घुससहित ३ जना पक्राउ, एक फरार

पोखरा, असोज २४ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोग पोखराले दुई दिनको बीचमा साढे ५ लाख घुससहित ३ जनालाई पक्राउ गरेको छ । जनताको धेरै गुनासो आउने मालपोत कार्यालयबाट मंगलबार साँझ २ कर्मचारी ५० हजार सहित पक्राउ परे । अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा मंगलबार सेवाग्राहीसँग घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका हुन् । जग्गाको लालपुर्जा मिलाईदिने भन्दै उनीहरुले घुस लिएका थिए ।

यो घटनामा संलग्न १ जना फरार छन् । नायव सुब्बा रामचन्द्र पौडेल अख्तियार टोलि आएको थाहा पाएपछि भागेका हुन् । उनको खोजी भैहरेको छ । ‘घुसको डिजाईनर पौडेल हुन् । उनैले सबै चाँजोपाँचो मिलाएका थिए, श्रोतले भन्यो–सबै सेटिङ भएपछि पनि अख्तियार आएको थाहा पाएर उनी भागेका हुन् । अहिलेसम्म सम्पर्कमा छैनन् ।’

त्यसको भोलिपल्टै आज फेरि अख्तियारको टोलिले मोटो रकम सहित सरकारी वकिल कार्यालयका सहन्याधिवक्तालाई पक्राउ गरेको छ । ५ लाख रुपैयाँ नगद घुस लिँदै गर्दा सुरेन्द्रबहादुर थापा बुधबार विहान पौने ९ बजे पक्राउ परेका हुन् । ठगि मुद्धा सर्बोच्चमा पुनरावेदन नगरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए । थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यालय पुगेका थिए । उनी शंकास्पद तरिकाले कार्यालय गएको बेला अख्तियारको टोली पछि लागेको थियो ।

तीनैजनालाई सेवाग्राहीको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार पोखराका प्रबक्ता रमेश ढकालले जानकारी दिए । ‘हामी अहिले स्ट्रिङ अप्रेशनलाई चुस्त रुपमा लगेका छौँ । यही अप्रेशनमा पक्राउ परेका हुन्, ढकालले भने–हामीले सूचना पाएकै आधारमा हिजोदेखि अनुसन्धान थालेका थियौं । आज विहानै कार्यालयबाट पक्राउ गरेका हौं ।’