पोखराबाट लमजुङ जाने बाटो पक्की बन्दै, २६ करोड लाग्ने

पोखरा, बैशाख १२ ।
बेगनास–भोर्लेटार सडक स्तरोन्नती थालिएको छ । ट्रयाक खुलेको तीन दशकपछि यो सडकको स्तरोन्नती गर्न लागिएको हो । बेगनासतालबाट तालबेंशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ । तालबेंशीदेखि लमजुङको सीमानासम्मको सडक कालोपत्रे गर्न प्रदेश सरकारले २६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘प्रदेश सरकारलाई धेरैले चिनेका थिएनन् । संघीयताको मर्म बुझेका थिएनन्, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने–यो बाटो पक्की बनाएर प्रदेश चिनाउछौं । हाम्रो विकास यहीँबाट सुरु हुन्छ ।’ सडक स्तरोन्नतीको लागि शिलान्यास गर्न मुख्यमन्त्रीसँगै लमजुङको सीमाना पिप्ले पुगेका बस्नेतले विकासका पूर्वाधारको सही उपयोग हुनुपर्ने बताए । ‘सडक बनाएर, काठको पोल फेरेर, धारामा पानी ल्याएर, स्कुल बनाएर हामी समृद्धी गाउँबाट सुरु गर्दैछौं । हामी विकास ल्याउछौं, तपाईं उत्पादन गरेर बजार पठाउनुस्, उनले थपे–ढुक्क हुनुस् । समाज रुपान्तरण गरेरै छाड्छौं । प्रदेश समृद्ध बनाएरै छाड्छौं ।’

सडक शिलान्यासपछि बोल्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार विकासका लागि हातेमालो गर्न तयार रहेको बताए । संघ सरकारबाट बजेट र सडक हस्तान्तरण भएपछि यसको काम प्रदेशले अघि बढाउन लागेको हो । ‘सडक बन्छ । पुल पनि बन्छ । सरर गाडी आउने बाटो हामी बनाउछौं, गुरुङ भन्छन्–गाडी आएपछि पोखरा के पठाउने त्यो योजना अहिले नै बनाउनुस् । कृषि उत्पादनमा ध्यान दिनुस् ।’

आगामी २७ महिनाभित्रमा सडक कालोपत्रे गरेर ठेकेदार कम्पनीले सरकारलाई हस्तान्तरण गर्नेछ । ‘हामी गाउँमा अस्पताल बनाउछौं, तपाईहरु विरामी लिएर पोखरा जानुहुन्छ । हामी गाउँमा स्कुल बनाउछौं, बच्चा पठाउन बजार झर्नुहुन्छ, उनी भन्छन्–तपाईंहरुलाई ओहोरदोहोर गर्न बाटो पक्की बनाउन लागेका हैनौं । कमसेकम सजिलोसँग गाडी आएपछि यहाँको समृद्धी आउनुपर्छ । आर्थिक उपार्जनतर्फ काम गर्नुस् ।’ गाउँ नै रित्तो भएका कारण खेतबारी बाँझिएकोमा उनको गुनासो थियो ।

पक्की पुल बनेपछि लेखनाथ र भोर्लेटार यात्रा पनि छोटिनेछ । करिब १२ किलोमटिर सडक कालोपत्रे गर्ने कामको जिम्मा महालक्ष्मी कञ्चनजंघा जेभीले पाएको छ । गएको चैत १८ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेर प्रारम्भीक काम समेत सुरु भैसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए ।

उनका अनुसार बाटोमा ७ मिटर चौडा पीच हुनेछ भने ड्रेनसहित १० मिटर फराकीलो सडक बन्नेछ । पूर्ण गुणस्तर सहितको सडक तयार गरेर समयभित्रै हस्तान्तरण गर्ने ठेकेदार कम्पनीका प्रमुख सञ्जय हिराचनले प्रतिबद्धता जनाए । ‘बर्खा अघि नै सामान ल्याईसक्छौं । कन्ट्याक्टर क्याम्प बनिसकेको छ, उनले भने–यो बर्ष प्रारम्भीक काम सकेर अर्को आर्थिक बर्षबाट धमाधम कालोपत्रेको पुर्वाधार बनाउछौं । तोकिएको समयमै सडक तयार हुन्छ ।’

त्यसक्षेत्रका सांसद एवं प्रदेशको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निरन्तर अनुगमन गरेर बाटोलाई प्रदेशकै नमुना बनाउने बताए । ‘चुनावअघि धेरै कुरा भनेर गयौं । चुनावपछि अव काम गर्ने हो, उनले भने–यो बाटोलाई देखाएर धेरैले भोट माग्ने एजेण्डा बनाए । अव अर्को पटक आउँदा धुलो उडाउँदै भोट माग्न आउँदैनौं । समयमै काम हुन्छ ।’ प्रतिनिधिसभा सांसद खगराज अधिकारी पनि विकासको लहर गाउँमा छिरेको भन्दै गाउँ नछोड्न गाउँलेलाई आग्रह गर्छन् ।

‘पहिले सुविधाको खोजीमा भएका जग्गा बेचेर जानुभो । अव हामी विकास लिएर गाउँ छिरिसक्यौं, उनले भने–हेर्दै जानुस्, केही बर्षपछि यो ठाउँमा आफ्नै जग्गा किन्न नसक्ने गरी महंगिन्छ । हामी त्यति छिटो विकास ल्याउँदै छौं ।’ यो सडकको सबै भाग रुपा गाउँपालिकामा पर्छ । यसअघि साविकको जिल्ला विकास समितिले पनि यो सडकलाई रणनीतिक सडकको रुपमा बजेट विनियोजन गरेर काम अघि सारेको थियो । रुपा गाउँपलिकाका अध्यक्ष नवराज ओझाले देशको समृद्धी गाउँको विकासबाट हुने बताए ।