पोखराबाट मुख्य न्यायधिबक्ताहरुको उद्घोष–हामी स्वतन्त्र छौं

पोखरा, भदौ १६ ।
आफुँहरु पूर्ण स्वायत्त रहेको उद्घोष सहित शुक्रवारदेखि पोखरामा भएको मुख्य न्यायधिबक्ताहरुको सम्मेलन सकिएको छ । नेपालको संविधानको धारा १६० मा मुख्य न्यायधिबक्ताको काम, कर्तब्य र अधिकार पूर्ण स्वतन्त्र रहेको भन्दै उनीहरुले कुनैपनि हस्तक्षेप नगर्न आग्रह गरेका छन् । संविधानमा मुख्य न्यायधिबक्ताहरु महान्याधिबक्ता मातहत रहने उल्लेख छ । तर त्यसलाई पनि हटाउनुपर्ने उनीहरुको माग छ । ‘प्रदेश र संघ फरक फरक सरकार हो । वित्त, अर्थको सन्दर्भमा कोर्टमा मुद्धा पर्न सक्छ । त्यतिबेला मैले प्रदेश सरकारको प्रतिनिधित्व गर्छु । महान्याधिबक्ता ज्यूले केन्द्र सरकारको प्रतिनिधित्व गर्नुहुन्छ, प्रदेश २ का मुख्य न्यायधिबक्ता दीपेन्द्र झाले भने–हाम्रा स्वार्थहरु बाझिन्छन् । त्यसैले नबाझिँदा सम्म सहकार्य हो । बाझियो भने पक्ष विपक्ष नै हो । यो शब्दावली संविधानबाट झिक्नुपर्छ ।’ प्रदेश सरकारले नै कर्मचारीको ब्यवस्था गर्न पाउनुपर्ने उनी बताउँछन् ।

दुईदिनसम्म चलेको भेलाले ११ बुँदे घोषणापत्र जारी गरेको छ । नेपालमा भर्खरै अवलम्बन गरिएको संघीयताको प्रभावकारी कार्यान्वयनले नै संविधानको सफलता निर्धारण गर्ने भएकाले संघीयताप्रति प्रतिबद्ध बन्न सबैसँग मुख्य न्यायधिबक्ताहरुले आग्रह गरे । ‘संघ र स्थानीय तहका पूरानै संरचना बीच संघीयताको अभ्यासमा प्रदेश सरकार नयाँ संरचना हो । प्रदेशको प्रभावकारी सञ्चालनमा संघीयताको सफलता नापिन्छ, घोषणापत्रमा भनिएको छ–प्रदेशको सहज कार्य सञ्चालनका लागि आवश्यक संघीय कानुन निर्माणका लागि ध्यानाकर्षण गराउँदछौं । प्रदेशको शान्ति सुरक्षा र अभियोजन सम्बन्धी अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।’

प्रदेश सरकारलाई प्रभावकारी बनाउन दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति गर्नुपर्ने, नेपालको संविधान, मुलुकी देवानी संहिता र फौजदारी संहिताका व्यवस्थालाई सचेतना कार्यक्रम मार्फत सबै प्रदेशका नागरिकलाई जानकारी गराउनुपर्ने र संविधानको कार्यान्वयन, प्रणालीको चुस्त ब्यवस्थापन तथा संविधान र कानुनका सम्बन्धमा सम्बद्ध सरकारलाई समुचित राय र सल्लाह दिने प्रतिबद्धता मुख्य न्यायधिबक्ताहरुले गरेका छन् । सम्मेलनमा प्रदेश–१ का मुख्यन्यायाधिवक्ता चुडामणि आचार्य, २ का दीपेन्द्र झा, ३ का सूर्यचन्द्र न्यौपाने, गण्डकी प्रदेशका राजेन्द्र घिमिरे, प्रदेश–५ का ठाकुर डिसी, कर्णाली प्रदेशका विद्याभुषण मानन्धर र प्रदेश–७ का कुलानन्द उपाध्याय सहभागी थिए । गण्डकी प्रदेशको आह्वानमा कार्यक्रम आयोजना गरिएको हो ।