पोखराबाट फ्रान्सले लग्यो बिमान चार्टड गरेर आफ्ना नागरिक

पोखरा, चैत १३ ।
पोखरा र आसपासमा अलपत्र परेका आफ्ना नागरिकलाई फ्रान्सेली दुतावासले फिर्ता लगेको छ । नेपाल घुम्न आएका आफ््ना नागरिकलाई बुद्ध एयर जहाज चार्टड गरेर दुतावासले काठमाण्डौं लगेको हो ।

अन्नपूर्ण पदमार्ग र हिमाली जिल्लामा रहेका पर्यटक तथा विभिन्न जिल्लामा अलपत्र पर्यटकलाई जम्मा गरेर काठमाण्डौं लगिएको एम्बेसीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विभिन्न समयमा उद्धार गरेका पर्यटकलाई गाडीमार्फत पोखरा पठाएको थियो ।

त्यसबाहेक पोखरामा भएका पर्यटकलाई समेत दुतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना जारी गरेको थियो । त्यसपछि जम्मा भएका ५९ पर्यटकलाई बुद्ध एयरको विमानमार्फत काठमाण्डौं लगिएको हो । विमानस्थलका अनुसार २४ जना महिला, ३४ जना पुरुष र १ बच्चा पठाईएको छ । एक फ्रान्सेली नागरिक पोखरामै छुटेकी छिन् ।

कोरियाले पनि आफ्ना नागरिकको खोजी गरिरहेको छ । मुस्ताङबाट मात्रै १ सय २१ विदेशीलाई गाडीमा चढाएर पोखरा पठाएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । २२ देशका नागरिकको उद्धार गरेर पोखरा र कठमाण्डौं पठाईएको उनले सुनाए ।