पोखरादेखि बुटवलको सडक स्तरोन्नती गरिने, भालु पहाडमा ३ वटा सुरुङ बन्ने

पोखरा, पुस २८ ।
सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्ड विस्तार हुने भएको छ । पोखरादेखि बुटवलसम्मको १ सय ५७ किलोमिटर सडक स्ट्याण्डर्ड दुई लेनमा विस्तार गर्न लागिएको हो । यसअघि नै दुई लेनको भनिएपनि यो सडक निकै साँघुरो छ ।

२०२४ मा बनेदेखि यो सडक स्तरोन्नती भएको छैन । भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा उक्त सडकमार्ग विस्तार हुने भएको हो । सडक विस्तारको लागि बैंकसँग सहमति भैसकेको सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

उनका अनुसार उक्त सडक विस्तारको डिजाइन यसअघि नै भइसकेको छ । यो सडक–खण्डमा नयाँ पुल तथा मोड सुधार र सुरुङमार्ग पनि बन्नेछन् । ‘भालु पहाडमा ५ सय मिटर भन्दा कम लम्बाइका ३ वटा टनेल बनाउने गरी सडकको डिजाइन भएको छ,’ उनले भने, ‘सडकमा केही टनेल तथा मोडमा सुधार गर्दा बाटो केही छोटो हुन जानेछ ।’

सडकमा दुई वटा नयाँ पुल पनि थपिने छ । थापाका अनुसार राम्दी तथा धुन्सामा नयाँ पुल थपिने डिजाइनमा उल्लेख छ । सडक विभागको डिजाइनमा काम सुरु भएको तीन वर्षमा विस्तारको काम सकिने बताइएको छ । एक्जिम बैंकसँग सडक विस्तारको लागि आधिकारीक सहमति भने भइसकेको छैन । तर, अबको केही समयमा सहमति हुनसक्ने थापाले सेतोपाटीलाई बताए ।

‘उनीहरुले डिजाइन तथा वातावरणीय प्रभाव मूल्याङकन आदिको अध्ययन गरिरहेका छन्,’ थापाले भने, ‘उनीहरुलाई यो सबै चित्त बुझ्यो भने काम अघि बढ्ने हो । त्यसैले यसको लागि समय लाग्न सक्छ ।’ एक्जिम बैंक यस विषयमा सकारात्मक रहेकोले चाडै सहमति हुने विभागले जनाएको छ । setopati