पोखराको रत्न मन्दिर सर्वसाधारणलाई खुला गरिने

पोखरा, साउन ३१ ।
गण्डकी प्रदेश सरकारले पोखरामा रहेको रत्न मन्दिरलाई संग्रालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेश सरकारले पोखराको लेकसाईडमा रहेको रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागि खुला गर्ने तयारी गरेको हो ।

नेपाल ट्रष्ट मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई केन्द्रिय सरकार सँग छलफल गरी पर्यटकका लागि खुल्ला गर्ने तयारी भईरहेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।

‘हाम्रो प्रदेशको पर्यटकीय केन्द्र फेवाताल किनारको रत्न मन्दिरलाई संग्रहालयको रुपमा विकास गर्ने हाम्रो योजना छ,’ मन्त्री लम्सालले भने, ‘यहाँ संसारभरका पर्यटकलाई नेपालको शासन सत्ताका बारेमा अध्ययन गर्ने र शासकको निजी जीवन हेर्ने एक संग्रहालय बनाई रत्न मन्दिर खुल्ला गर्ने तयारी छ ।’ यसलाई लेक म्युजियम र जैविक विविधता अध्ययन गर्ने स्थल बनाउँदै अन्य पर्यटकीय गतिविधि बढाउन सकिने उनको भनाई छ ।

नेपाल ट्रष्ट सञ्चालक समितिको अध्यक्ष गृहमन्त्री रहने प्रावधान छ । मन्त्री लम्सालले नेपाल सरकार सँग छलफल गरी रत्न मन्दिरलाई संग्रालयको रुपमा विकास गरी प्रदेश मातहत ल्याउन पहल गरेको बताए । उनले रत्न मन्दिरलाई व्यवस्थापन गरी केही महिना भित्रमानै खुल्ला गरी पर्यटकको आकर्षण बढाउने उल्लेख गरे । रत्न मन्दिर खुलाउने बिषयमा मन्त्री लम्साल र सामाजिक विकास मन्त्री नरदेवी पुनले यसको अवलोकन गरेका थिए ।

पूर्वराज परिवारले विन्टर प्यालेसका रुपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंसीय राजतन्त्रको प्रतिकका रुपमा संग्रालय बनाएर सर्वसाधारणका लागि खुल्ला गर्नुपर्ने स्थानियवासीको माग रहदै आएको छ । रत्नमन्दिर पूर्व राजपरिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो ।

वि.सं. २०१४ सालमा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा जाँदा बस्न मिल्ने गरी यो दरबारको निर्माण गर्न लगाएका थिए । रत्न मन्दिरलाई हिँउदे दरबारको रुपमा समेत नामाकरण गरिएको थियो ।