पोखराको यातायात कार्यालयमै छैन लाईसेन्स

पोखरा, असोज १८ ।
गण्डकी प्रदेश मातहत रहेको पोखराको यातायात कार्यालय, सवारी चालक अनुमति पत्र विभागमा बिहानैदेखि चालक अनुमति पत्र लिनेको लाइन लाग्ने गर्छ । दैनिक १० हजार सवारी चालक अनुमति पत्रको माग भए पनि कार्यालयले भने जम्मा ३ सय मात्र सवारी चालक अनुमति पत्र वितरण गर्ने सामथ्र्य राख्छ । त्यो पनि महिनौंको दौड धुप गरेपछि मात्र सेवाग्राहीको हात पर्छ ।

सेवाग्राहीको बढ्दो चाप कम गर्न साथै कार्यालयलाई व्यवस्थित गर्न अनलाइन फाराम भर्ने सिस्टम पनि सुरु गरिएको छ । तर, सेवाग्राहीको सास्ती भने अझै हटेको छैन । बिहान ७ बजेदेखि नै सेवाग्राहीको भिड लाग्ने गर्छ । सरकारले यसतर्फ ध्यान नदिएर जनताको आवश्यकता बेवास्ता गरि रहेको सेवाग्राहीको गुनासो छ ।

ट्रायलका लागि र्फम भर्न आएका पोखरा १८ हेमन्त सुबेदीले भने ट्रायल दिनपनि छिटै पालो नआउने ट्रायल दिए पनि लाइसेन्स पाउने केहीले हो कहिले भन्ने निधो नहुने बताए । चितवन, बाग्लुङ, दाङ लगायतका ठाउँबाट पनि सवारी चालक अनुमति पत्र लिन पोखरा आउने गरेका छन् । दिनहुँ हजारौं सेवाग्राहीको लाम लाग्ने कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी पनि छैनन् । २६ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा ४ दरबन्दी रिक्त छ ।

कर्मचारी अभावका कारण पनि छिटो सेवा दिन नसकेको कार्यालयका निमित्त प्रमुख गोकुल शर्माले बताए । कार्यालयमा बिचौलियाको प्रवेशले गर्दा पनि गाह्रो भएको उनको भनाई थियो । दिनहुँ आवेदन फाराम खुलाउँन सके बिचौलिया पनि आँफै कम हुने र सेवाग्राहीलाई पनि छिटो सेवा दिन सकिने उनले दाबी छ ।

पहिलेको तुलनामा अहिले कार्यालय व्यवस्थित भएपनि सेवाग्राहीलाई भने जस्तो सेवा दिन नसकेको उनको भनाई छ । सेवाग्राहीको चाप व्यवस्थित गर्न टोकन मेसिन ल्याएर टोकन सिस्टमबाट सेवा दिने उनले जानकारी दिए । चालक अनुमति पत्र व्यवस्थित गर्न स्मार्ट कार्ड दिन सुरु गरिएको छ । तर चालकका रुपमा पास भएपनि स्मार्ट कार्ड लिन भने ९ महिना पछि आउनुपर्ने बाध्यता छ । पोखराबाट सबैभन्दा कारको लाईसेन्स लिनेहरु बढेको उनले सुनाए ।