पोखराको मालेपाटनमा मोटरसाईकल दुर्घटना, घाईतेलाई काठमाण्डौं लगियो

पोखरा, कार्तिक २३ ।
पोखरामा दुई मोटरसाईकल बुधबार ठक्कर खाँदा एक महिला गम्भिर घाईते भएकी छिन् । मध्यान्ह सवा १२ बजे पोखराको मालेपाटनमा ग५प ७०४ नम्बरको पल्सर र ग१२प ७६४५ एभेन्जर ठोक्किएका हुन् ।
एभेन्जरमा सवार पोखरा घारीपाटन निवासी सरस्वती गिरीको अवस्था गम्भिर रहेको छ । उनको अहिले काठमाण्डौ न्युरो हस्पिटलमा उपचार भईरहेको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाण्डौं लगिएको थियो ।
पल्सर चालक पोखरा १५ निवासी सुनिल तामाङले विद्युत प्राधिकरण कार्यालय अगाडि एभेन्जर बाईकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । तामाङ सामान्य घाईते छन् । उनको पोखरा सृजनाचोक स्थित मेट्रो सिटी हस्पिटलमा उपचार गरिएको थियो । गिरीलाई भने अस्पतालबाट सिधै काठमाण्डौ लगिएको हो ।
घाईते गिरीको टाउकोदेखि शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । जिरोकिमीदेखि बाग्लुङ बसपार्क जाँदै गरेको पल्सरले विपरित दिशाबाट आईरहेको एभेन्जर बाईकलाई ठक्कर दिएको प्रहरीको भनाई छ ।
तामाङ वडा प्रहरी कार्यालय बैदाम प्रहरी नियन्त्रणमा छन् । घाईते गिरीले धेरै वर्ष अघि देखि नै एभेञ्जर बाईक चलाउँदै आएकी थिईन् ।