एक करोडको लागतमा पोखराको महेन्द्रपुलमा अत्याधुनिक शौचालय बनाइने

पोखरा, चैत २७ ।
पोखरा महानगरपालिका ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरेका हुन् ।

शौचालयको शिलान्यास गर्दै आचार्यले पोखराको महेन्द्रपुलमा सुविधा सम्पन्न शौचालय निर्माण गर्न लागिएको बताए । “यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ,’ उनले भने, ‘चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ ।’ शौचालय पनि सुविधा सम्पन्न होटेल बराबर हुने उनको भनाइ छ ।

उनका अनुसार शौचालयबाट निकाल्न सकिने ग्याँसको प्रयोगबाट चमेना गृह पनि सञ्चालन गरिने छ भने, त्यो टिपिकल नेपाली शैलीको हुनेछ । आसपासमा केही चौतारीहरू निर्माण गरिनेछन् । अधिकांश स्थान भने खुल्ला नै राखिने आचार्यले बताए । शौचालयको आगामी २०८० को जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्ने गरी काम अघि बढाइएको हो ।

एनआरएनएका मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गरिन् । एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको उनको भनाइ छ ।

पोखरा महानगरपालिका वडा नं।९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले आफूहरूको पूर्व प्रतिबद्धता अनुसार जनताका सामु गरिएको बाचा पुरा गर्न लागिएको बताउनुभयो । चुनावताका जनताका सामु आफूहरूले गरेका प्रतिवद्धताहरु पुरा गर्नु निर्वाचित जनप्रतिनिधिको कार्यभार भएको भन्दै अव एक एक गर्दै ती प्रतिवद्धताहरु पुरा गर्दै जाने विश्वास दिलाउनुभयो ।

यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ । करिब १ करोडको लागतमा निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले बेहोर्नेछ । पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।