पोखराको मनिपाल अस्पतालमा डाक्टरको गाडीले किचेर बालकको मृत्यु, अस्पतालमा तनाव

पोखरा, असार ७ ।
पोखराको मनिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरले चलाएको गाडीको ठक्करले एक बालकको अस्पताल परिसरमै मृत्यु भएको छ । विश्वदीप तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा पोखरा २८ माझठानाका ४ बर्षिय बालक संस्कार कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुबाआमाले विरामी आमा भेट्न जाँदा बालकलाई पनि सँगै लगेका थिए । बुबाको मोटरसाइकलबाट झरेपछि साइड लागेका बालकलाई डाक्टर तिमिल्सिनाले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताए ।

मृतक बालकका आफन्तले डाक्टर विश्वदीपको चरम लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन् । डाक्टर एक हातले मोबाइलमा गफ गर्दै एक हातले स्टेयरिङ समातेर गाडी हुईंक्याएको उनीहरुको जिकिर छ ।

अस्पतालमा तनाव

बालकका आफन्तले डाक्टर विश्वदीप तिमिल्सिनालाई अस्पतालमै झिकाएर घटनाबारे उनकै मुखबाट सुन्न चाहेको बताएका छन् । तर, डाक्टर तिमिल्सिना र ठक्कर दिने कारलाई भने प्रहरीले कास्की प्रहरी चौकी लगिसकेको छ ।

अहिले अस्पतालमा तनाव छ । आफन्तले गैरजिम्मेवार चालकलाई कडा कारबाही नभएसम्म बालकको शव नबुझ्ने जनाएका छन् । प्रहरीले आफन्तलाई अस्पतालमा रोकेको छ ।