पोखराको मनिपाल अस्पतालमा झडप

पोखरा, चैत १९ ।
पोखराको मनिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । १० महिनाअघि देखि तलव र सेवा सुविधा बृद्धीको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले केही सातायता प्रदर्शन गरेका थिए । तलवको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका ईन्चार्जहरुलाई ईन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, संचित विदाको १ सय ८० दिन (पूरै) विदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् । “१ सय ८० दिन सञ्चित विदा पाउने अधिकार छ । हामीलाई ६० दिनभन्दा बिदा दिँदैन, आन्दोलनरत एक कर्मचारीले भने–५ बर्षदेखि अस्थायीमा धेरै कर्मचारी काम गरिरहेका छन् । उनीहरुलाई तत्कालै स्थायी गरिनुपर्छ ।” उनका अनुसार नेपालीको १५ सय बढाउँदा भारतीय कर्मचारीको डेढ लाख बृद्धी हुन्छ । “अस्प्तालले सँधै र बोनस खाने, बाहिरचाहीँ सँधै आन्दोलन भएको देखाउने, उनले भने–यो सरासर ठग्ने काम हो । हाम्रो माग तत्कालै सम्बोधन गरियोस् ।”
कर्मचारीहरुले ११ दिनदेखि लगातार धर्ना दिँदै आएका थिए । सोमबार पनि ८ बजेदेखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम थियो । तर विरामीका आफन्तले विरोध गरेपछि तनाव भएको हो । प्रहरीले कर्मचारी युनियन मनिपालका अध्यक्ष नवराज भण्डारीलाई पक्राउ गरेर लगेको मनिपालका कर्मचारी पविन बास्तोलाले जानकारी दिए । कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले चाहीँ सेवामा अवरोध गरेका कारण नियन्त्रणमा लिनुपरेको बताए । “कर्मचारीले माग्ने प्रशासनसँग हो । विरामीलाई उपचारमा रोक्ने होईन, उनले भने–गलत गरे प्रहरीले नियन्त्रणमा लिन्छ ।” यसबारे मनिपालका प्रशासन प्रमुख भानु भारध्वाजसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । कर्मचारी नियन्त्रणमा लिएपछि आन्दोलनरत पक्ष तोडफोडमा उत्रेका छन् ।