पोखराको भरतपोखरीमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाईने, २० करोड बिनियोजन

पोखरा, बैशाख २३ ।
पोखरा पर्यटकीय क्षेत्र । हरेकजसो सार्वजनिक कार्यक्रमहरुमा पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्ने आवाज उठिरहन्छ । तर हालसम्म औपचारिक रुपमा घोषणा भने भैसकेको छैन । यद्यपी पोखरालाई सबैले पर्यटनको राजधानीकै रुपमा चिन्दछन् । संघीय संरचनामा गण्डकी प्रदेशको समेत राजधानी रहेको पोखरामा अहिले सरकारले उद्योगको हव पनि बनाउन लागेको छ ।

प्रदेश सरकारले पोखरा ३३ भरतपोखरीको ३ हजार १ सय २२ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको हो । आवश्यक जग्गा पहिचान गरी प्रदेश सरकारले केन्द्र सरकारसँग अनुमोदनको लागि सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो ।

जग्गा छनौटका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अध्ययन गरेको थियो । सोही अध्ययन प्रतिवेदनका आधारमा भरतपोखरीको जग्गा उपयुक्त देखिएको उद्योगमन्त्री विकास लम्सालले बताए । ‘जग्गा छनौट भएको छ । औद्योगिक क्षेत्र बनाउन संघ सरकारसँग स्विकृति मागेका छौं, उनले भने–माथीबाट निर्णय हुने वित्तिकै काम अघि बढ्छ । पोखरामा प्रदेश स्तरीय ठूलो औद्योगिक क्षेत्र बनाउँछौं ।’

छनौट भएको जग्गामध्ये अधिकांश सार्वजनिक र केही निजी स्वामित्वमा छ । केन्द्र र प्रदेशको संयुक्त लगानीमा निर्माण हुने औद्योगिक क्षेत्रका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । जसमा प्रदेश सरकारको १२ करोड र संघ सरकारको ८ करोड लगानी हुने प्रदेश सरकारले जनाएको छ ।

‘सम्भाब्यता अध्ययनका लागि भनेर २ करोड विनियोजन गरिएको थियो । पूर्वाधार र अन्य कामका लागि १० करोड छ, सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत भन्छन्–यसबाहेक केन्द्रले पनि ८ करोड पठाएको छ । स्थानीय सरकारले पनि लगानी गर्छ ।’

प्रदेश सरकारको नीति तथा कार्यक्रममा नै प्रदेशभित्रका हरेक स्थानीय तहमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सारेको थियो । तर त्यो योजनालाई थाँती राखेर प्रदेश स्तरीय औद्योगिक क्षेत्रको प्रश्ताव अघि सारिएको हो ।

यसबारे पोखरा महानगरपालिकाले चाहीँ सरकारले आँफुसँग समन्वय नगरेको जनाएको छ । भरतपोखरीमा औद्योगिक क्षेत्र बनाउन महानगरले छुट्टै डिजाईन तयार गरेको छ । तर प्रदेश सरकारले ल्याएको योजनाबारे आँफुहरुलाई जानकारी नभएको मेयर मानबहादुर जिसीले बताए ।

‘महानगरले औद्योगिक क्षेत्र बनाउनका लागि औद्योगिक विकास लिमिटेडसँग समन्वय गरिरहेको छ । धेरै कुरा अघि बढेको छ, उनले भने–१ हजार ५ सय क्षेत्रफलमा काम गर्न सम्भाब्यता अध्ययन भैरहेको छ । तर प्रदेश सरकारले के गर्न लागेको हो हामीलाई थाहा छैन ।’ महानगरले नयाँ औद्योगिक क्षेत्र बनाएर पोखराको मुख्य शहरी क्षेत्रभित्र रहेको औद्योगिक क्षेत्र पनि भरतपोखरीमा सार्न लागेको छ ।

सरकारको यो निर्णयप्रति प्रमुख प्रतिपक्षी दलले भने विरोध गरेको छ । ‘विकासको विकेन्द्रीकरण गर्नुपर्नेमा सबै ठूला आयोजना र कार्यक्रमहरु पोखरा केन्द्रित भए । सरकारको निर्णय आफ्नै प्रतिबद्धता विपरित छ, विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भने–यो निर्णयमा हाम्रो विरोध छ । पोखराको पर्यटकीय महत्वलाई थप विगार्ने काम भयो । औद्योगिक क्षेत्र पोखराभन्दा बाहिर लैजानुपर्छ ।’

नेपाल उद्योग बाणिज्य संघ गण्डकीका अध्यक्ष सञ्जीववबहादुर कोइरालाले पनि ठूलो औद्योगिक क्षेत्र चाहीँ पोखरामा राख्नु उपयुक्त नहुने बताए । ‘स्थानीय उत्पादनमा आधारित सानो औद्योगिक ग्रामले खासै असर गर्दैन । अहिले भैरहेको औद्योगिक क्षेत्र पनि सार्नुपर्ने आवाज उठिरहेको छ, उनले भने–ठूलो औद्योगिक क्षेत्र बनाउने हो भने चाहीँ नवलपुरमा लैजानुपर्छ । पूर्वपश्चिम राजमार्गको सेण्टरमा पर्छ । निजी क्षेत्रले पहिले देखि नै आवाज उठाउँदै आएको हो ।’