पोखराको बिजयपुर खोलामा ठेकेदारको बदमासी, ४ दशकमा ४ वटा पुल

पोखरा, असार २४ ।
पृथ्वी राजमार्ग बनाउने बेलामै पोखरा छिर्न बिजयपुर खोलामा पक्की पुल बनाईएको थियो । २०३८ सालको जनैपूर्णीमाको दिन पोखरामा ठूलो बर्षा भयो । काहुँखोलादेखिको पानी भरिएर बाढी आएपछि पुल सर्लक्कै बगायो । त्यसपछि बेलिव्रिज पुल बनाईयो । यसले लामो समय साथ दियो । २०६५ सालमा पुलले काम गर्न छोडेपछि नयाँ पुल बनाईयो । तर यो पुल गुणस्तरीय नभएपछि १० बर्ष नबित्दै कमजोर भैसकेको छ । अहिले पुल जीर्ण भएपछि नयाँ बेलिब्रिज राख्न धमाधम काम भैरहेको छ ।

असारभित्रै बेलिब्रिज तयार गर्ने बताईएपनि हालसम्म आधाआधी काम पनि सकिएको छैन । भदौभन्दा अघि पुल पूरा नहुने बताईएको छ । पोखरा भित्रिने पृथ्वी राजमार्गको एकमात्रै विकल्प बिजयपुर खोलाको यो पुल जोखिममा भएपछि ठूला गाडीलाई डाईभर्सन गरिएको थियो । त्यही डाईभर्सन पनि आईतबार रातीको बाढीले बगाएको छ । खोलामा राखिएको ह्युम पाईप सहितको डाईभर्सन बगाएको हो । डाईभर्सन बगाएपछि १० टनभन्दा बढी भार भएका गाडीको आवागमन नै बन्द भएको छ । विजयपुर पुल जीर्ण हुँदा १० टन भन्दा बढी भार भएका गाडीलाई त्यही डाईभर्सनबाट आवतजावत गर्ने ब्यवस्था मिलाईएको थियो । प्रदेश सरकारको सक्रियतामा गएको फागुन अन्तिम साता डाईभर्सन बनाईएको हो ।

बाढीले गर्दा चर्किएर जोखिममा परेको पक्की पुलमा राखिएको फलामको सपोर्ट समेत बगाएको छ । जसका कारण पुलबाट गाडी आउजाउ गर्न समस्या भएको छ । गत माघ महिनामा नियमित मर्मत गर्न लाग्दा पुल चर्केको पत्ता लागेको हो । त्यसपछि नयाँ बेलिब्रिज निर्माणको काम धमाधम थालिएको हो । पुल चर्केको थाहा पाएपछि मालबहाक ठूला गाडीलाई डाईभर्सन गर्न खोलामाथी ह्युम पाईप राखिएको हो । हलुका गाडी चाहीँ अहिलेपनि पुलबाटै वारपार गरिएको छ ।

प्रदेश सरकारले डाईभर्सनको काम पुनः सुरु गरेको छ । मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री सहितको टोलीले पुलको निरीक्षण गरेका छन् भने डाईभर्सन बनाउन निर्देशन दिएका छन् । ‘संघ सरकारले हो राजमार्ग हेर्नुपर्ने । तर बाटो बगाएर गाडी रोकिए । संघ सरकार चुईंक्क बोलेन,’ भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, प्रदेश सरकारले हेरेर बस्न पनि सक्दैन । जनताको तत्कालको समस्या समाधान हामी गर्छौं । जतिसक्दो छिटो डाईभर्सन खुलाउँछौं ।’ २ करोड ५ लाखको लागतमा सोही खोलामा सडक डिभिजन कार्यालय पोखराले बेलिब्रिज निर्माण गर्न ठेक्का दिएको हो ।
तस्विरः सुदर्शन रञ्जित