पोखराको बिजयपुरमा डाईभर्सन बगायो, गाडी आवतजावतमा समस्या

पोखरा, असार २३ ।
पोखरा भित्रिने पृथ्वी राजमार्गको एकमात्रै विकल्प बिजयपुर खोलाको पुल जोखिममा छ । त्यसैले ठूला गाडीका लागि छुट्टै डाईभर्सन गरिएको छ । त्यही डाईभर्सन पनि आईतबार रातीको बाढीले बगाएको छ । खोलामा राखिएको ह्युम पाईप सहितको डाईभर्सन बगाएको हो ।

डाईभर्सन बगाएपछि १० टनभन्दा बढी भार भएका गाडीको आवागमन नै बन्द भएको छ । विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई सोही डाईभर्सनबाट आवतजावत गराउँदै आइएको थियो । अहिले पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेका छन् ।

बाढीले गर्दा यसअघि चर्किएर जोखिमयुक्त बनेको विजयपुरको पक्की पुलमा लगाएको फलामको सपोर्ट समेत समेत बगाएको छ । जसका कारण सो पुलबाट सवारी आवागमन प्रभावित हुने भएको छ । गत माघमा पुलको नियमित मर्मत सम्भारका क्रममा पुलको सपोर्टमा रहेका फलाम ठाउँ ठाउँमा चर्केको पाइएको थियो । त्यसपछि मालबाहक गाडी सञ्चालनमा रोक लगाइ डाइभर्सन बनाइएको थियो ।

पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् । पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ । तर असार मसान्त सम्म पुल निर्माण कार्य सकिने संभावना निकै कम छ ।

जसले गर्दा गण्डकी प्रदेशको राजधानी, बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङसम्मलाइ प्रभाव पर्दछ । विकल्पका रूपमा लेखनाथबाट सेती नदिको लामगादी, पटनेरी लगायतका स्थानमा रहेका पुल बाट हलुका सवारी साधन चढाउन सकिने भए पनि दोविल्लामा रहेको पुल समेत जोखिमपूर्ण रहेकाले लोड गाडीहरु आवतजावतमा कठिन छ ।

समयमै पुलको मर्मत र वैकल्पिक उपायबारे नसोचिदा अवको केही हप्ता पोखरा र आसपासमा सवारी आवागमन प्रभावित बन्ने जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । शुभन्युजकाे सहयाेगमा ।

Photo-Sudarshan Ranjit